हेटौंडा । बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) ले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित रानीसेरा माध्यामिक विद्यालयको ३७ औं बार्षिक जन्मोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै पुलामीले हरेक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न सके मुलुकले काँचुली फेर्ने जिकिर गर्नुभयो ।
प्रदेशसभा सदस्य पुलामीले जसरी तिन चुच्चे राखेर चुलोको निमार्ण हुन्छ त्यसैगरी गुणस्तरीय शिक्षाका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच आपसी समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।
विद्यालयमा तत्कालै खानेपानी, खेलमैदान र विद्यालय भवनको आवश्यकता रहेको गुनासोप्रति इंगित गर्दै पुलामीले यस विद्यालयको समस्या समाधानमा छिट्टै पहल थालिने जनाउनुभयो । पुलामीले उत्कृष्ट विद्यार्थीलाई मात्र नभई एसईईमा विद्यालयलाई उत्कृष्ट बनाउन सहयोग गर्ने शिक्षकहरुलाई पनि पुरस्कृत गर्ने वातावरणको सिर्जना गर्नुपर्ने पनि बताउनुभयो ।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिनले गुणस्तरीय शिक्षाका लागि पालिकाले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले हरेक वर्ष पालिकाभित्र सञ्चालित विद्यालयका अनुशासित विद्यार्थीलाई पुरस्कार वितरण गर्न बजेट छुट्याइएको पनि बताउनुभयो ।
कार्यक्रममा विभिन्न विधामा विद्यार्थी र शिक्षकहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं १ नम्बर वडा अध्यक्ष आइते सिं लो को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।