मकवानपुर १ ( क) मा छिन्तु फराकिलो मतान्तरले बिजयी

हेटौंडा । नेकपा माओवादी केन्द्रका प्रेम बहादुर पुलामी (छिन्तु) फराकिलो मत अन्तर सहित प्रदेशसभा मकवानपुर १ (क) बाट निर्वाचित भएका छन् । १९ हजार सातसय १९ मतका साथ उनी विजयी भएका हुन् ।

बाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका पुलामीसँग नेकपा एमालेका कमल विष्ट चार हजार दुईसय ८७ मत अन्तरले पारजित भए । विष्टले १५ हजार चार सय ३३ मत प्राप्त गरे । साथै राप्रपाका उम्मेदवार सागर थापाले सात हजार सातसय दुई मत प्राप्त गरे । पुलामी २०७४ मा यसै क्षेत्रबाट जितेका थिए ।

नेकपा एमालेसँगको गठबन्धबाट विजयी भएका उनले नेपाली कांग्रेस धर्मराज लामिछानेलाई पराजित गरेका थिए । उनी २०६४ मा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचत भएका थिए । बिगत ३० वर्षदेखि निरन्तर कम्युनिष्ट राजनीतिमा रहेका पुलामी जनयुद्धको समयमा दश वर्ष भूमिगत राजनीति गरेका थिए ।

उनी जनयुद्धकै समयमा २०५५ मा एक महिना जेल परेका थिए । वाइसिएलको समस्य हुँदै राजनीतिमा प्रवेश गरेका उनले जनयुद्धको समयमा बिभिन्न युद्ध मोर्चाहरु सम्हाले । २०५८ मा उनी मकवानपुरको पूर्वी इलाकाको जनसरकार प्रमुख बने । सोही समयमा जिल्ला पार्टी सचिवालय सदस्य हुँदै २०५९ मा जनमुक्ति सेनको कमिसार र २०६० सालमा रसुवा र नुवाकोटको पार्टी सेक्रेटरीको भूमिका पनि पुलामीले सम्हाले ।

२०६१ सालमा जनमुक्ति सेनाको बटालियन कमिसार हुँदै उनी नेवा ताम्सालिङ दक्षिण ब्युरो सचिव समेत बने । तत्कालिन माओवादी पार्टी शान्ति सम्झौतासँगै खुल्ला राजनीतिमा आएपछि नेकपा माओवादी केन्द्रमा आएको टुटफुट र बिभाजनको समयमा पनि उनी अबिचलित रही मकवानपुरमा नेकपा माओवादीलाई एकताबद्ध बनाउन मुल नेतृत्व सम्हालेर बसे ।

२०६८ सालदेखि नेकपा माओवादी केन्द्र मकवानपुरको अध्यक्षको भूमिका निर्वाह गर्दै आएका उनी हाल नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिका उपाध्यक्ष हुन् । पुलामी २०२९ पुस ८ गते बागमती गाउँपालिका ३ फापरबारीमा बुवा जित बहादुर पुलामी र आमा रत्नकुमारी पुलामीको कोखबाट जन्मिएका हुन् । ‘म सधैँ जनताको बीचमा हुनेछु, मलाई विजयी गराउनुहुने सबै मतदातलाई धन्यवाद’, जितपछि प्रतिक्रिया दिँदै पुलामीले भने, ‘तपाईहरुको मतको करद हुनेगरी काम गर्नेछुु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *