हेटौंडा । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत मकवानपुरको मतगणना आज बिहान सुरु गरिने भएको छ । जिल्लाका सबै मतदान केन्द्रबाट आएको मतपेटिका राती नै जम्मा भइसकेकाले सर्बदलिय बैठक बसेर आज बिहान १० बजेबाट सुरु गरिने मूख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।
मतगणना हेटौंडा २ मा रहेको सिद्धार्थ माविमा गरिनेछ । मगणनास्थलमा बिहानैदेखि भिड देख्न सकिन्छ । दलका प्रतिनिधि , कार्यकर्तादेखि , जनता लगायत मकवापनपुरको मतपरिणाम कस्तो आउने भन्नेमा उत्सुक बनेर पर्खिरहेका छन् ।
आइतबार भएको निर्वाचनमा मकवानपुरमा ५९ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिृकत निरौलाका अनुसार प्रारम्भिक तथ्यांक अनुसार जिल्लामा १ लाख ७८ हजार २८२ मत खसेको छ । जसमा ९२ हजार ८७७ जना पुरुष, ८५ हजार ४ सय जना महिला र अन्य ५ जनाले मतदान गरेका छन् ।
दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा रहेको यस जिल्लामा कुल मतदाता २ लाख ९४ हजार ९१९ मतदाता रहेका छन् । जसमा १ लाख ४४ हजार ९५९ महिला, १ लाख ४९ हजार ९५४ पुरुष र ६ जना अन्य रहेका छन् ।