निर्वाचन आयोगले कानुनको पालना मात्रै गराउन खोजेको हो : प्रमुख आयुक्त थपलिया

काठमाण्डौ ।  प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग कडा भएको नभइ कानुनको पालना मात्रै गराउन खोजेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डौ पूर्व पर्यवेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले आम मानिसमा आयोग कडा भएको भन्ने भ्रम सिर्जना भएको भन्दै आयोगले संविधानलाई कार्यान्वयन गरेको बताउनुभयो । 

प्रमुख आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता अनुशासित भए आयोग कडा भएको अनुभव नै गर्न नपर्ने उल्लेख गर्नुभयो । कानुनले भनेका कुरा पूर्णतया पालना गराउने पक्षमा आयोग रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोग कडा भएको छैन । पटक्कै कडा भएको छैन । फुटबल खेल्दा रेफ्रीले रेड कार्ड देखाएन भने रेफ्री कडा भएको होइन, खेलाडी गतिला भएका हुन् । अनुशासित भएका हुन् । साँच्चै यो देशमा राजनीतिक खेलाडीहरू, निर्वाचनका खेलाडीहरू अनुशासित हुँदै गएका हुन् भने यो हाम्रो निम्ति खुसीको विषय हो । हामी हिजो जस्तो थियौँ, अहिले पनि त्यस्तै छौँ । कानुन तिनै हो । बनाएको कानुन पालना गरौँ । कानुनले कसैलाई वर वा पर भन्न हुँदैन । ठूलो वा सानो भन्नु हुँदैन । जसरी मतको मूल्य बराबर छ, त्यसैगरी कानुनले गर्ने व्यवहार पनि बराबर हुन्छ ।’

कार्यक्रममा बोल्दै थपलियाले वर्तमान राजनीतिक संस्कारले संविधानले उल्लेख गरेको महिला सहभागिताको अधिकारलाई नै अप्ठेरोमा पार्नसक्ने बताउनुभयो । उम्मेदवारीमा महिलाको प्रतिनिधित्वको विषय आयोगले बारम्बार स्मरण गराउँदासमेत सुनिश्चितता गर्न नसकेको उहाँले गुनासो गर्नुभयो । महिला सहभागिता गराउने कुरामा दलले टिकट दिने वा नदिने भन्नेबारेमा आयोग प्रवेश गर्न नमिल्ने उहाँको भनाइ छ ।

प्रमुख आयुक्त थपलियाले चुनावमा उम्मेदवारी दिनका लागि आफू लायक छु वा छैन भन्ने नबुझिकन उम्मेदवारी दिन आउँदा आयोगलाई समस्या परेको गुनासो गर्नुभयो । उहाँले निर्वाचन पर्यवेक्षणका लागि ४४ वटा नेपाली र दुई वटा विदेशी गरी ४६ वटा संस्थाबाट सात हजार आठ सय जना पर्यवेक्षक चुनाव पर्यवेक्षणका लागि खटिने बताउनुभयो । चुनावमा १८ वटा कुटनीतिक नियोगका विभिन्न टोलीहरू पनि पर्यवेक्षणका लागि आएको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *