गढी । लोकतान्त्रिक बाम–गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आफू सपना बाँड्न नभई मकवानपुरमा विकासको मुल फुटाउन आएको बताउनुभएको छ । चुनावी अभियान अन्तर्गत आइतबार मकवानपुरगढीको १, २, ३ र ४ नम्बर वडाको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उहाँले पटक पटक सांसद् र मन्त्री हुँदा पनि केही नगर्नेहरुले अहिले पनि नारा र सपना मात्र बाँडिरहेको बताउनुभयो ।
‘मैले धेरै ठाउँमा भनिसकेको छु म सहजै प्राप्त पहिलो नम्बरको समानुपातिकको नाम छोडेर मकवानपुरको क्षेत्र नम्बर १ मा प्रत्यक्ष निर्वाचनमा होमिएको छु । म सांसद् मात्रै हुनका लागि उम्मेदवार भएको होइन’, डिनाले भन्नुभयो, ‘यहाँका जनतासंग सुखदुःखमा रहने र जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने योजनाका साथ आएको हुँ ।’
मकवानपुरगढीलाई अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र बनाउन आवश्यक पहल गर्ने उहाँको भनाई थियो । आफ्नो कार्यकालमा मकवानपुरगढीका सुकुम्बासीको समस्या समाधान गर्दै घरघरमा लालपुर्जा लिएर पुग्ने डिनाले प्रतिबद्धता जनाउनुभयो। यसअघि जितेका प्रतिनिधि गाउँ फर्केरै नआएको गुनासो सुनिएको भन्दै उनले ५ बर्षसम्म जनताले चाहेको विकासका योजनामा जनतासंगै रहेर काम गर्ने बताउनुभयो ।
मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ले मकवानपुरको विकास र समृद्धिका लागि चुनावपछि पनि साझा भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘हामी गठबन्धनको साझा उम्मेदवार हौं । चुनावपछि पनि साझा भएरै काम गर्नेछौं’, उहाँले भन्नुभयो, ‘संविधान र गणतन्त्रको रक्षा एवम् मुलुकको विकास र समृद्धिका लागि संविधान पक्षधर दलहरु गठबन्धनसहित चुनावमा आएका छौं । संविधान नै नमान्ने र मास्न खोज्नेहरु पनि मिलेर आएका छन् जनताले त्यस्ता तत्वलाई परास्त गर्ने बेला आएको छ ।’
छिन्तुले गढीदेखि ठिंगनको लटरम्मेश्वरसम्म आन्तरिक र बाह्य पर्यटक भित्राउने गरी विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। कांग्रेस मकवानपुरगढी ४ नम्बर वडा सभापति सुवास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सर्केस घलान लगायतका नेताहरुले जिल्लाबासीको हितका लागि गठबन्धनको उम्मेदवारको जित आवश्यक रहेको धारणा राख्नुभएको थियो ।