हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर अन्तर्गत रहेको ‘फ्री मिडिया नेटवर्क’ को आयोजनामा ‘निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन सञ्चार माध्यमको भूमिका एंव आचारसंहिता ‘ बारे सरोकारवालाहरुसंग छलफल गरेको छ । आइतबार भएको छलफलमा सहभागीहरुले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले पत्रकार र सञ्चारमाध्यमबाट निष्पक्ष भएरै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले आचारसंहिता निर्वाचन अवधिभर मात्रै होइन, सबैलाई संधै काम लाग्ने विषय रहेकाले यस विषयमा सबैजना जिम्मेवार रहनुपर्ने बताउनुभयो । प्रजिअ पाण्डेले निर्वाचन सम्बन्धी सकरात्मक समाचार मात्रै प्रशारण जोड दिन आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई भयरहित, निष्पक्ष, स्वतन्त्र राख्न सबैको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचनका सम्बन्धमा अन्य जिल्लाभन्दा मकवानपुर सबैभन्दा सजिलो र भयरहित लागेको जनाउनुभयो । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सबैले आ –आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरको ३६३ मतदान केन्द्र र १६७ वटा मतदान स्थलमा २९१२ कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो । मतदानका लागि सबै तयारीलाई चुस्त राखिएको बताउँदै निरौलाले मतदाता शिक्षासम्बन्धी जनचेतना फैलाउन सञ्चारकर्मीहरुमा सहयोगको अपेक्षा राख्नुभयो ।
कार्यक्रमकमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले निर्वाचनका समयमा सबै पत्रकार आचारसंहितामा संवेदनशिल हुनुपर्ने जिकिर गर्नुभयो । उहाँले पत्रकारले क्षमता विकास गर्ने समय भनेको नै निर्वाचन भएकाले संवेदनशिल भएर समाचार संप्रेषण गरिदिन आग्रह गर्नुभयो ।
अध्यक्ष पोखरेलले मतगणनाकोे सहज जानकारी दिलाउन प्रविधिको प्रयोगमा विशेष ध्यान दिन मुख्य निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराउनुभयो । मतगणना स्थलमा पत्रकारहरुका लागि समाचार डेक्स स्थापना गरी उनीहरुलाई सहज रुपमा रिर्पोटिङ गर्ने वातावरण सिर्जना गर्न पनि अध्यक्ष पोखरेलले आग्रह गर्नुभयो ।
पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणीराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवनपुरका प्रहरी उपरीक्षक बामदेव गौतम, उप अनुसन्धान निर्देशक पप्पु शर्मा पौडेल, पत्रकार महासंघ केन्द्रिय सदस्य सुनिल खड्का, महासंघ बागमती प्रदेश पूर्व अध्यक्ष प्रताप विष्ट, माइती नेपाल मकवानपुरकी मन लामा, मकवानपुर महिला समूहकी निशा लामा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी आरती पाठक तथा जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।