बकैया । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक बाम गठबन्धनले बकैया गाउँपालिका वडा नम्बर ७ भिरकोटमा चुनाबीसभा गरेको छ । शनिबार विहान भएको सभामा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना ) र प्रदेशसभा सदस्य उम्मेदवार प्रेम बहादुर पुलामी (छिन्तु) ले सम्बोधन गर्नुभयो ।
सभालाई सम्बोधन गर्दै डिनाले बस्ती जलाएर खरानी बनाउनेहरुलाई भोट दिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । यहाँका भूमिहिनलाई लालपुर्जा दिन्छौ भन्दै भोट मागिरहेको खवर आएको भन्दै डिनाले यस्ता झुटा आश्वासन बाँड्नेलाई मंसिर ४ मा जनताले ठुलै सबक दिने बताउनुभयो । उम्मेदवार डिनाले आफु बिजयी भए केन्द्रीय बजेट ल्याएर यस क्षेत्रको विकास गर्न पहल गर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य उम्मेदवार छिन्तुले एक छाक मिठो खुवाउनेलाई होइन देश र जनताको अवस्था बदल्नेलाई भोट दिनुपर्ने बताउनुभयो । उहाँले देशलाई विकास र निकास दिने गठबन्धनलाई जिताउन मतदाता समक्ष आग्रह गर्नुभयो । आफु यस क्षेत्रबाट अघिल्लोपटक बिजयी भएर यहाँको शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन लगायत क्षेत्रको विकासमा सक्दो पहल गरेको बताउनुभयो । उम्मेदवार छिन्तुले बाँकी रहेका कामलाई पूर्णता दिन र नयाँ योजनासहित मकवानपुरको विकास गर्न आफुले फेरी मैदानमा आएको बताउनुभयो ।
यसैबिच, गठबन्धनका उम्मेदवारहरुले बकैया ७ माटोकोरी हर्द टोलमा टोलसभा गरेको छ । कार्यक्रममा नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवार लक्ष्मी पाख्रिन, लोकतान्त्रिक बाम गठबन्धन क्षेत्र नम्बर १ प्रचारप्रसार समिति संयोजक दामोदर खनाल, माओवादी केन्द्र बागमती प्रदेश सदस्य जिवन गोले लगायतको उपस्थिती रहेको थियो ।