आत्तिएर विरोधीले ‘अनर्गल’ प्रचार गर्न थाले : डिना, चुनाब जितेपछि गठबन्धन मिलेरै विकास गर्छौ : पराजुली

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले गठबन्धनको जित सुनिश्चित देखेर विरोधीले ‘अनर्गल’ प्रचार गर्न थालेको बताएकी छिन् । गठबन्धनले बुधबार हेटौंडा–४ मा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले हारको मानसिकतामा पुगेकाहरुले झुटा र भ्रामक कुरा गर्न थालेको उनले बताइन् ।

‘म बकैया जाँदा एकजना बयस्कले म माओवादी हुँ तर म गठबन्धनलाई भोट हाल्दिन, जित्दा पनि जित्दैन, कांग्रेसलाई नि कसैले भोट हाल्छ भन्दै हिँडेको देखे । पछि बुझ्दा उनी एमालेकै कार्यकर्ता रहेछन्’, डिनाले भनिन्, ‘यो त एउटा उदाहरण मात्र हो, अहिले चोकचौतारामा दिनभर चिया खाँदै गठबन्धनले जित्दैन, गठबन्धन दलबीच राम्रो छैन । फलानोले हार्छ, फलानोले जित्छ भन्दै बसेको पाउन सकिन्छ । यो विरोधीले गरेको हत्कण्डा हो, हामीले यसलाई चिर्न जरुरी छ ।’

स्वच्छ प्रतिस्पर्धाको निम्ति तयार रहन उनले प्रतिस्पर्धीहरुलाई अनुरोध गरिन् । पटक पटक पदमा रहँदा जिल्लाको विकासमा सिन्को नभाँच्ने र बर्षौंसम्म हराएर बस्नेहरुले अहिले फोस्रो नारा र झुटो आश्वासन दिइरहेको भन्दै उनले त्यस्ताको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गरिन् ।

‘म कम्तिमा १० हजार मतान्तरले जित्छु । मेरो क्षेत्रमा मेरो र प्रदेशसभा सदस्यका उम्मेदवारहरुको माहौल निकै राम्रो बनेको छ’, डिनाले भनिन्, ‘मकवानपुरको ६ वटै सिटमा गठबन्धनले जित्ने कुरामा ढुक्क हुनुहोस् । मंसिर ४ गतेसम्म गठबन्धनका सबै नेता कार्यकर्ताहरु एकढिक्का भएर लागिदिनुहोस् ।’

सहज बाटोबाट पाएको सांसद् पद छोडेर जनताको सुखदुःखमा साथै रहने र जित्ने गरी आएको उनले बताइन् ।

यसैगरी, क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार कांग्रेस नेता आनन्दराम पराजुलीले चुनावपछि पनि गठबन्धनमा आबद्ध दल र जनप्रतिनिधि मिलेरै जिल्लाको विकासमा लागिपर्ने बताएका छन् । उनले मुलुकको विकास र समृद्धिका लागि केन्द्रका नेताहरुले सुझबुझपूर्ण निर्णयसहित गठबन्धन गरेको भन्दै मुलुकको स्थायित्व, लोकतन्त्र र संविधानको रक्षा एवम् जिल्लाको विकासका लागि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे ।

‘आफ्नो चुनाव चिन्ह अर्कालाई बेच्ने, अर्काको चुनाव चिन्ह किन्ने र पटकपटक मन्त्री हुँदा, केन्द्रदेखि प्रदेश र स्थानीय सम्म आफ्नै पार्टीको सरकार हुँदा पनि केही गर्न नसक्नेहरु अहिले अनेक आश्वासन बाँड्न आइरहेका छन्’, पराजुलीलले भने, ‘मुलुकलाई समस्या पर्दा, संविधान र व्यवस्था नै खतरामा पर्दा जोगाउन लागिपरेका दलहरुले अहिले मुलुकको आवश्यकता अनुसार पवित्र उद्देश्यले गठबन्धन गरेको हो । मकवानपुरसहित देशैभर गठबन्धनले जित्नेछ, चुनावपछि गठबन्धनकै सरकार बन्नेछ ।’

सधैं हावादारी कुरा गर्ने, जनतामाथि मजाक र खिल्ली गर्ने एमालेबाट मुलुकको विकास र समृद्धि सम्भव नभएको उनको भनाई थियो । मकवानपुरमा गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित भैसकेको दावी गर्दै उनले यही माहौल र मतलाई जोगाइराख्न गठबन्धन दलका नेता कार्यकर्ताहरुलाई अनुरोध गरे । चोकचौतारामा बसेर भ्रम छिर्नेहरुसंग सतर्क रहन आग्रह गर्दै पराजुलीले त्यस्ताहरुलाई प्रतिवाद गर्न समेत आग्रह गरे । हरेक क्षेत्रका जानकारहरुसंगको सल्लाह र सुझाव लिएर जिल्लाको समग्र विकासमा एक भएर लाग्ने उनको प्रतिबद्धता थियो ।

हेटौंडा ४ का प्रचार प्रसार संयोजक हरि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपाने, स्थायी कमिटी सदस्य एवम् मकवानपुर इन्चार्ज ललित बस्नेत, माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रल्हाद लामिछाने, कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार उमा दाहाल, हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, माओवादी केन्द्रका नगर अध्यक्ष तीर्थबहादुर थापा, नेकपा एसका उपमहानगर अध्यक्ष ध्रुब भुजेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *