हेटौँडा। मकवानपुरको हेटौँडास्थित भुटनदेवी चौरमा आउँदो मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्टमा हेटौडाबासीले संगीतको मजा लिने मात्रै होइन एकसाथ मानवीय सेवा पनि गर्न पाउने सुनौलो अबसर जुरेको छ । जुन ठाउँमा मानवसेवा आश्रमको केन्द्रिय कार्यालय समेत रहेको छ ।
अघिपछिका कन्सर्टहरुमा टिकटको शुल्क सिधै आयोजकमा जान्थ्यो तर यो पटकको टिकट मानवीय सेवामा पनि लगानी हुने भएकाले दर्शकहरुलाई एक साथ रमाइलो पनि हेर्न पाइने र समाज सेवा पनि गर्न सकिने दोहोरो फाइदा मिल्नेछ ।
हेटौडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ उक्त दिन आयोजना गरिएको ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक/रक गीतहरु प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको तयारी तिब्र भएको र टिकट विक्री थालिएको मानवसेवा आश्रम हेटौँडाले जनाएको छ ।
साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गरी बेसहाराहरुको पालन पोषण र उनीहरुका लागि निर्मित भवनलाई पूर्णता दिन मानवसेवा आश्रमले मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत मकवानपुरको यो कार्यक्रम तेस्रो हुनेछ ।
मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन (स्व. राज्य थापा स्मृति भवन) को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाइगोठ लगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । यसरी आश्रमको निर्माण कार्यलाई सम्पन्न गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र लक्ष्मीनारायण र बालगोपालहरुको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनका गर्न कन्सर्ट गर्न लागिएको अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ जना व्यक्तिहरु आश्रित छन् ।
लाइभ कन्सर्टको शुरुवात विराटनगरमा मङ्सिर १६ गतेबाट हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशालापछि २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौरमा कार्यक्रम गरिने छ ।
त्यसपछि २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।
अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ । कन्सर्टमा सहभागि हुनका लागि मानव सेवा आश्रमको मुख्य कार्यालयबाट र अनलाइनमा थुप्रै डटकम (thuprai.com) र इ–सेवा (esewaevents.com) बाट टिकट लिन सकिने छ ।
मानवसेवा आश्रम नितान्त दाताहरुको स्वेच्छिक सहयोग र स्थानीय सरकारको आंशिक सहयोगमा सञ्चालित छ । यसमा व्यक्तिले स्वेच्छाले विशेष पर्व एवं अवसरहरुमा नगद वा जिन्सी सहयोग गर्न सक्ने आश्रमले जनाएको छ ।