काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले मृतकका परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।
प्रधानमन्त्री देउवाले प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन तथा घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जानकारी पनि गराएका छन् ।
“सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु,” उनले ट्विटरमा लेखेका छन्, “साथै, प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन र घाइतेहरूको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु ।”
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि सो भूकम्पमा परी मृत्यु भएका ६ जनाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सामाजिक सञ्जालमार्फत नै उनले शोकमा परेका परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
यस्तै, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । सामाजिक सञ्जलमार्फत नै उनले घाइते तथा प्रभावित परिवारको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले घाइतेहरूको यथाशीघ्र उद्धार, राहत र पुनःस्थापनाका लागि तत्काल पहल गर्न र प्रभावित परिवारलाई क्षतिपूर्ति दिन प्रदेश, संघीय सरकारसँग अपील समेत गरेका छन् । प्रभावितको उद्धार तथा राहतमा जुट्न मातहतका पार्टी कमिटीका सदस्यहरूलाई निर्देशन पनि दिएका छन् ।