हेटौंडा । सामाजिक एकता पार्टीबाट प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवार रहनुभएकी रमिला आचार्य यतिबेला चुनाबी प्रचारमा व्यस्त हुनुहुन्छ । चुनाब चिन्ह ‘गितार’ लाई भोट दिन आग्रह गर्दै उहाँ मतदाताको घरदैलोमा धाइरहनुभएको छ ।
उहाँले समस्यामा परेका, अन्यायमा परेका ३ करोड जनताको आवाजको लागि आफुले उम्मेदवारी दिएको बताउनुभयो । उम्मेदवार आचार्यले आफु बिजयी भए मकवानपुर जिल्लामा गुणस्तरीय शिक्षाका लागि पहल गरिने बताउनुभयो ।
उम्मेदवार आचार्यले मकवानपुरका जनताले गुणस्तरीय स्वास्थ्य सेवा नपाइरहेको गुनासो रहेको भन्दै त्यसको निराकरणका लागि यहाँका अस्पतालहरुमा विशेष सघन उपचार सेवा सञ्चालनमा विशेष पहलकदमी लिने पनि उहाँले बताउनुभयो ।
आचार्यले मकवानपुरको विकासका लागि आफ्नो मूख्य भिजनको रुपमा नै यहि दुई विषय गुणस्तरीय शिक्षा र स्वास्थ्य रहेको दाबी गर्नुभयो । जनताले यहि दुई मूख्य आवश्यकतालाई बुझेर आफुलाई मतदान गर्ने उहाँको विश्वास छ ।
सामाजिक एकता पार्टीको चुनाबी एजेण्डामा कार्यकारी राष्ट्रपति, पूर्ण धार्मिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षता र संघियता , पूर्ण समानुपातिक प्रणाली , पारदर्शी सुशासन, भ्रष्टाचारमुक्त नेपाल तथा एकल महिला वृद्धवृद्धा, सहाराविहीन बालबालिकाहरुको पूर्ण रुपमा सरकारद्धारा व्यवस्थापन तथा संरक्षण हुनुपर्ने लगायत उल्लेख छ ।