हेटौंडा । राप्रपाबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेशसभा ख का उम्मेदवार गुन्जन बहादुर न्यौपानेले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी न्यौपानेले मकवानपुरको विकासका लागि ७ संकल्प सहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिबद्धता पत्रमा उहाँले हेटौंडा अस्पाताललाई सर्वसुलभ सुविधा सम्पन्न बनाउनेदेखि लिएर मकवानपुरवासीको आय आर्जन बढाउने उल्ल्ेख गरेका गर्नुभएको छ । बेरोजगारीलाई सीप र प्रशिक्षण, सर्वसुलभ प्राविधिक समेतका विश्वविद्यालय तथा निशुल्क प्लस टु सम्म विद्यालयका लागि नीति निमार्णमा जोड दिने पनि बताइएको छ ।
हेटौंडाको उद्योगिक क्षेत्रमा मकवानपुरवासीको लगानी हुनुपर्ने तथा मकवानपुरेलाई रोजगारी ग्यारेण्टी गरिनुपर्ने पनि उम्मेदवार न्यौपानेको प्रतिबद्धतामा उल्लेख छ ।
पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार न्यौपानेले संघियताले मुलुकमा आर्थिक भार बढाएको बताउँदै त्यसको खारेजीका लागि आवाज उठाइरहने बताउनुभयो । ‘बागमती प्रदेशमा १८ वटा मन्त्रालय आवश्यक नै छैन, मन्त्रालय चलाउन १३ प्रतिशत बजेट खर्च भइरहेको छ उहाँले भन्नुभयो – ‘जनतासंग चर्को रुपमा कर लिने त्यहि करले मन्त्रालय पनि धान्न सकिरहेको स्थिती छैन । ’
उम्मेदवार न्यौपानेले राज्यलाई दोहन गर्ने व्यक्ति प्रदेशसभामा हुनुहुन्न भन्ने मान्यताकै आधारमा आफुले उम्मेदवारी दिएको दाबी गर्नुभयो । उहाँले प्रदेशमा भएका मन्त्रालय घटाएर कम आर्थिक भार पर्ने किसिमले सरकार सञ्चालनमा आफ्नो भूमिका रहने समेत बताउनुभयो ।