

हेटौंडा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन विरोध कार्यक्रम सुरु गरेको छ । नेकपाले संसदीय निर्वाचन प्रणालीको विरोधस्वरुप मकवानपुरका विभिन्न पालिकाहरुमा भित्तेलेखन अभियान थालनी गरेका हुन् ।
मकवानपुरका दशवटै पालिकामा भित्तेलेखन अभियान सुरु गरेको नेकपा जिल्लाका सचिवालय सदस्य विवेक घलानले बताए। उनले निर्वाचनको विरोधमा भित्तेलेखनसँगै पर्चा वितरण र मसाल जुलुस प्रदर्शन गर्ने बताए।
‘जनताको चाहनाविपरीत जबर्जस्ती थोपरिएको चुनाव प्रत्युत्पादक हुने भएकाले विरोध गरेका हौँ । यो चुनावले देशको ढुकुटी रित्याउने र दलाल पुँजीवादी मोटाउने मात्र हो । मंसिर ४ गतेको चुनावले जनचाहना पूरा गर्दैन,’ घलानले भने ।
सचिवालय सदस्य घलानले जिल्लाको दशवटै पालिकामा विरोध कार्यक्रम गर्ने अभियानअन्तर्गत हेटौँडा उपमहानगरपालिका, कैलाश, मनहरी, मकवानपुरगढीलगायतका पालिकाहरूमा अभियान चलिरहेको र एक–दुई दिनमै सबै पालिकामा अभियान चलाउने बताए ।
