गठबन्धनको सरकार बने तेब्बर बजेट : मोक्तान

नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज एवं मकवानपुर क्षेत्र नम्बर २ ‘क’ की प्रदेशसभा उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा भीमफेदी गाउँपालिकामा अहिलेभन्दा तेब्बर बजेट ल्याउँने बताउँनुभएको छ । भीमफेदी गाउँपालिका ९ मा लोकतान्त्रिक बाम साझा गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गरेपछि उहाँले गठबन्धनले बोलेको पुरा गरेर बिकास गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।


‘हामी प्रदेश सरकार’ ले यो गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका छौ,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहनु भएकी उहाँले भन्नुभयो, ‘अब फेरी हाम्रो गठबन्धनको प्रदेश सरकार बन्यो भने डबल हैन, तेब्बर बजेट गाउँपालिकामा आउँने छ ।’ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा पहल गरेको उहाँको दाबी छ ।


नेपाली काँग्रेस बागमती प्रदेश सभापती एवं मकवानपुर क्षेत्र नम्बर २ ‘ख’ को प्रदेशसभा उम्मेदवार ईन्द्र बानियाँले ‘हावादारी’ केपी ओलीले गणतन्त्र नचाहेको र संविधानको समेत बिरोध गरेका कारण माओवादी–काँग्रेस एकजुट भएको बताउँनुभयो । ‘हामी अहिले गणतन्त्रलाई संस्थागत विकास गर्नेमा छौ, केपी ओली तोड्नेमा छन्, त्यसैले जनताले गठबन्धनलाई जिताउँनुपर्छ,’ उहाँले भन्नुभयो । गठबन्धनमा आबद्ध भएकाले काँग्रेसले पनि माओवादीलाई भोट हाल्नैपर्ने भन्दै यो बेला पार्टी र चुनाव चिन्ह भन्दा गणतन्त्र र संविधान जोगाउँन सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।


नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गर्नुभयो । ‘हाम्रो गठबन्धनका उम्मेदवारले विश्वासघात गर्नुहुन्न, तपाईहरु ढुक्कले गठबन्धनलाई भोट हाल्नुहोस्,’ उहाँले भन्नुभयो ।


मकवानपुरकै मुख्यमन्त्री भएरपनि एमालेका डोरमणि पौडेलले ३ बर्षमा आफ्नै वडा हेटौंडा ११ मा एउटा पुलबाहेक कतै बजेट नहालेको भन्दै उहाँले लोकतान्त्रिक बाम गठबन्धनले जितेमा विकास र आर्थिक समृद्धीका लागि भुमिका खेल्ने बताउँनुभयो । ‘हामीले जितेमा लोकल रक्सीलाई बाण्र्डेड बनाएर व्यवसायको रुपमा काम गर्नेर्छौ,’ उहाँले भन्नुभयो, ‘गठबन्धनले जिते पछि लागुऔषध ओसारपसारमा जेल परेकाहरु पनि जेलमुक्त हुनेछन् ।’


कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका क्षेत्रीय प्रवक्ता मिलन पुडासैनी, लोकतान्त्रिक बाम गठबन्धन जिल्ला अनुगमन समिती मकवानपुरका संयोजक रामचन्द्र अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *