झुरझुरे । मकवानपुरको बागमती गाउँपालिका स्थित झुरझुरेमा आइतबार नमुना मतदान गरिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी नमुना मतदानको आयोजना गरिएको हो ।
निर्वाचन कार्यालय बागमती प्रदेशका निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलका अनुसार निर्वाचनमा मतदातालाई स्पष्टता दिन तथा मतदान कति ठाउँमा दिने, कसरी मतदान गर्ने भनेर जागरुक बनाउन नमुना मतदानको आयोजना गरिएको बताउनुभयो । उहाँले नमुना मतदानबाट मतदाताहरुलाई मत बदर हुनबाट जोगाउन मद्धत गर्ने समेत बताउनुभयो ।
नमुना मतदानमा महिला र पुरुष गरी ५३ जना मतदाता सहभागी भएका थिए । नमुना मतदानका क्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मात्रै मतगणना गरिएको थियो । जसमा खसेको ५३ वटा मतमा ५२ सदर भएको र १ वटा मत बदर आएको प्रदेश निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो । यसपछि नमुना मतदान बकैया गाउँपालिकामा आयोजना गरिने उहाँले बताउनुभयो ।