बकैया मन्थलीका स्थानीयहरु गठबन्धनका उम्मेदवार डिना र छिन्तुलाई जिताउने अभियानमा

बकैया । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० का स्थानीयहरुले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु महालक्ष्मी उपाध्याय डिना र प्रेम बहादुर पुलामी छिन्तुलाई जिताउने अभियानमा जुटेका छन् । शनिबार गठबन्धनको निर्वाचन प्रचारप्रसार कार्यक्रममा सहभागी स्थानीयहरुले पटक–पटक यस क्षेत्रबाट जितेर गई मन्त्री भएकाहरुले केहिपनि काम नगरेकोमा रुष्ट हुँदै उनीहरुले यसपटक गठबन्धनलाई विश्वास गरेर जिताउने पक्षमा देखिएको हो ।

कार्यक्रममा गठबन्धनका उम्मेदवारहरुलाई स्थानीयले प्रश्नै प्रश्न गरेका थिए । उनीहरुले पञ्चायतकालदेखि १५ वर्षसम्म जितेर १२ पटकसम्म मन्त्री हुँदा पनि कमल थापाले यहाँको विकासमा सिन्कोसम्म भाँच्न नसकेको भन्दै उम्मेदवारलाई प्रश्न गरेका थिए । यस्तै नेकपा एमालेका कृष्ण दाहाल यहि क्षेत्रबाट जितेर गए तर एकपटक पनि यहाँको अवस्थालाई परिवर्तन गर्नमा भूमिका नखेलेकोमा उनीहरुले गठबन्धनका उम्मेदवार समक्ष दुख पोखेका थिए ।

उनीहरुले यस क्षेत्रलाई पूर्ण बिजुलीयुक्त बनाउन र हात्तीसुँढे–शिखरपुर–मन्थली सडक कालोपत्रे गर्न माग गरे । साथै शिक्षा, स्वास्थ्य, रोजगारी तथा कृृषि क्षेत्रको विकासमा विशेष ध्यान दिन पनि उनीहरुको माग थियो ।

स्थानीयहरुको गुनासो र अपेक्षा सुनिसकेपछि प्रतिनिधिसभा क्षेत्र नम्बर १ की गठबन्धन उम्मेदवार डिनाले आफु यस क्षेत्रको जनचाहना अनुरुप चल्ने बताउनुभयो । उहाँले आफु बिजयी भए संघिय बजेटबाट यस क्षेत्रमा पूर्ण क्षमताको विद्युत विस्तार, सडक तथा पुल निमार्ण साथसाथै कृषि, पशुपालन , शिक्षा र भौतिक पूर्वाधारहरुको आवश्यकता अनुसार पु¥याउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिगमनकारी कमल थापा सूर्य चिन्ह लिएर तपाईको घरघरमा ललिपप देखाउन फेरी आएको छ भन्दै उम्मेदवार डिनाले त्यस्ता टुरिस्ट मतियारलाई परास्त गरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताउनुभयो ।

यसैगरी, प्रदेशसभा ‘क’ का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तु ले यस क्षेत्रको विकास , समृद्धिमा आफ्नोतर्फबाट सदैब साथ रहने जिकिर गरे । उहाँले यहाँको भूगोलको विकास, समस्या हल गर्न सक्ने जनताको छोराछोरी नै हामी मैदानमा छौ भन्दै गठबन्धनलाई मतदान गरी बिजयी गराउन आग्रह गर्नुभयो ।

चुनाब चिन्ह किनेर आएकाहरु हामीले ल्याएको व्यवस्था र समृद्धी बिरोधी भएको बताउँदै उम्मेदवार पुलामीले त्यस्ता जनआन्दोलनका दमनकारीसंग विकासका कुनै एजेण्डा नै नरहेको दाबी गर्नुभयो । उहाँले व्यवस्थालाई परिवर्तन गर्न सफल रहेको भन्दै अब जनताको अवस्थालाई परिवर्तान गर्न एकपटक गठबन्धनका उम्मेदवार बिजयी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओबादी केन्द्रका केन्द्रित सदस्य विजय गौतमले हामीले लडेर ल्याएको प्राप्त संघीय लोकतान्त्रिक व्यवस्था मास्न कमल थापा जस्ता मान्छे केपी ओलीको बुई चढेर आएको जिकिर गर्नुभयो । उहाँले मुलुकको अवस्था बदल्न र युवाहरुलाई स्वरोजगार बनाउन गठबन्धनको जित अति आवश्यक रहेको उहाँको भनाई छ ।

लोकतान्त्रिक गठबन्धनको १० नम्बर वडा निर्वाचन प्रचारप्रसार समिति संयोजक केशव तिमल्सिनाको अध्यक्षमा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *