बकैया । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं मकवानपुर क्षेत्र नम्बर १ प्रदेशसभा ‘क’ बाट लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार प्रेम बहादुर पुलामी ‘छिन्तु’ ले कमल थापा जस्तो पर्यटक आफु नरहेको बताउनुभएको छ । शनिबार बकैया गाउँपालिका वडा नम्बर ८ शिखरपुरमा लोकतान्त्रिक बामगठबन्धनको चुनाब प्रचारप्रसार कार्यालय उद्धघाटन कार्यक्रममा बोल्दै उम्मेदवार ‘छिन्तु’ ले आफु यहि जन्मेर हुर्कि आएको मान्छे हुँ भन्दै यहि ठाउँको विकास गर्न सदैब लागिपर्ने बताउनुभयो ।
‘म मकवानपुरको प्रत्येक जनताको घरमा पुगेको छु, जनताको समस्याहरु बुझेको छु जनताको अधिकारका लागि नै हिँडिरहेको छु , ’ उहाँले भन्नुभयो– ‘मलाई झुटा आश्वासन बाँढ्नु छैन, कमल थापा जस्ता पर्यटक हामी होइनौ, त्यसैले म तपाईहरुकै साथमा रहेर काम गर्छु । ’
उम्मेदवार ‘छिन्तु’ ले कमल थापाहरु प्रतिगमनको मतियार बनेर आएको भन्दै त्यसबाट सचेत रहन आग्रह गर्नुभयो । पैसाको चलखेल गरेर सोझा साझा जनताको भोट किन्न खोजेका जनआन्दोलन बिरोधीलाई यहाँका जनताले सबक सिकाउनुपर्ने उहाँको भनाई छ ।
उम्मेदवार ‘छिन्तु’ ले आफु प्रदेशसभामा रहदाँ यहाँको विकासका लागि सक्दो कार्य गरेको बताउँदै अधुरा रहेका कामलाई पूर्णता दिन फेरी भोट दिएर जिताउन मतदातासंग अनुरोध गर्नुभएको छ । उहाँले यस क्षेत्रमा पुल–पुलेसा निमार्ण, सडक निमार्ण तथा केहिको डिपिआर सकिसकेको पनि जानकारी दिनुभयो । साथै राष्ट्रिय भूमि आयोगबाट जग्गाको नापी कार्य भइरहेको र नापी भइसकेका जग्गाको लालपुर्जा वितरणको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत उहाँको भनाई छ ।
लोकतान्त्रिक बाम गठबन्धनको ८ नम्बर वडा चुनाब प्रचारप्रचास कार्यक्रमका संयोजक अमर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विजय गौतम, नेपाली काँग्रेस महसमिति सदस्य दिनेश उपाध्याय, क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समिति संयोजक दामोदर खनाल, नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्यहरु जिवन गोले र सुमन पाख्रिन तथा नेकपा एकिकृत समाजवादीका नारायण तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।