थाहा नगरमा पर्यटनको उच्च सम्भावना छ : मन्त्री श्रेष्ठ

काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताउनुभएको छ । शुक्रबार थाहा नगरपालिकाले काठमाण्डौंको बसन्तपुरमा आयोजना गरेको थाहा नगर र ईन्द्रसरोवर आसपासका फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे पर्यटन विकासको कार्ययोजनालाई समेटेर थाहा नगरलाई विकास गर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रदर्शनीले पर्यटन प्रवर्धनमा सहयोग पुग्छ ।” उहाँले नेपाल सरकारले सन् २०२३ देखि २०३२ सम्म भ्रमण दशक घोषणा गरेकोले यो फोटो प्रदर्शनीले आन्तरिक र बाह्य पर्यटकहरुका लागि नयाँ गन्तब्य सूचित गरेको बताउनुभयो ।


थाहा नगरपालिका लगायत आसपासको क्षेत्रको पर्यटन प्रवर्धन गर्नका लागि फोटो प्रदर्शनी आयोजना गरिएको थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले बताउनुभयो । प्रदर्शनीमा थाहा नगरलाई चिनाउने प्राकृतिक सुन्दरता, ऐतिहाँसिक संरचना, सभ्यता र संस्कृति, जीवनशैली, स्वच्छ र सफा वातावरणका तस्विरहरु राखिएको प्रमुख बिष्टले बताउनुभयो ।

प्रदर्शनी उपत्यकाका विभिन्न संघ संस्था, शैक्षिक संस्थाहरु, पर्यटन व्यवसायी, ट्राभल एजेन्सी र आम नागरिकलाई लक्षित गरी फोटो प्रदर्शनी आयोजना गरिएको कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठले बताउनुभयो ।

प्रदर्शनीमा थाहा र ईन्द्रसरोबरका करिव एक सय तस्विरहरु रहने र कात्तिक २० गतेसम्म हरेक दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म अवलोकन गर्न सकिने संयोजक श्रेष्ठले बताउनुभयो । नेपाल पर्यटन बोर्डले प्रबर्धन गरेको फोटो प्रदर्शनीको ब्यवस्थापन फरक सोचले गरेको छ ।

फोटो प्रदर्शनीका कार्यक्रम संयोजक ईन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्ट, उपप्रमुख भरत गोपाली, ईन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, राष्ट्रिय सभाका पूर्व सांसद रामनारायण बिडारी, सहकारी अभियान्ता बिष्णुहरि ढकाल ‘जंगली’, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, फरक सोचका संयोजक यादब जंग रायमाझी, पालुङ जेसीज बर्ष २०२२ का अध्यक्ष जयराम खत्री, ईन्द्रसरोबर गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत प्रल्हाद कार्की, थाहा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.