निर्वाचनबाट सहि पार्टी र नेतृत्व छनौट गर्न नसके देश श्रीलंका बन्छ : कमल थापा

हेटौंडा । नेकपा एमालेबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापाले अहिलेको निर्वाचनबाट सहि पार्टी र नेतृत्व छनौट गर्न नसके नेपालको हालत श्रीलंकाको जस्तै हुने दाबी गर्नुभएको छ । एमाले हेटौंडा वडा नम्बर ५ को निर्वाचन परिचालन कमिटीद्धारा आयोजित जनसंगठन अगुवा कार्यकर्ता भेलामा बोल्दै थापाले सो कुरा उल्लेख गर्नुभयो ।

उम्मेदवार थापाले देशलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन सूर्य ध्वजाबाहक उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । थापाले गठबन्धनले निर्वाचन जितेर सरकार बनाए देश पुनः अस्थिरता र संकट तर्फ धकेलिने दाबी गर्नुभयो । उहाँले हिजोको दिन एमालेले हेटौंडालाई बागमती प्रदेशको राजधानी बनाउन सफल भएको भन्दै अबको उद्धेश्य राजधानीलाई गर्व गर्न लायक राजधानी निमार्ण गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उम्मेदवार थापाले आफु क्षेत्र नम्बर १ को पालिका र वडाहरुमा भ्रमण गर्दा एमालेका साथीहरुबाट प्राप्त माया र सद्धभावले एकदम खुशी भएको समेत उल्लेख गर्नुभयो ।

नेकपा एमाले हेटौंडा ५ निर्वाचन परिचालन कमिटी संयोजक सम्राट तुम्बाहाम्फेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एमाले केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना, निर्वाचन परिचालन कमिटीका जिल्ला संयोजक अनन्त प्रसाद पौडेल, उपसचिव सीता बिष्ट, राप्रपा नेपाल केन्द्रिय सदस्य अम्बिका खतिवडा, एमाले जिल्ला सल्लाहकार देवी प्रसाद दाहाल, राप्रपा नेपाल प्रदेश १ (ख) समिति अध्यक्ष दामोदर वाग्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *