हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीको रामधुनीमा रहेको दिब्यतारा बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको सदस्य सेवा केन्द्रको २४ औं साधारणसभा सोमबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्धघाटन दिब्यतारा सहकारीका संरक्षणकर्ता एवं मकवानपुर प्रतिनिधीसभा क्षेत्र नम्बर १ की लोकतान्त्रिक बाम गठबन्धन उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथी डिनाले सहकारीलाई रोजगारीको क्षेत्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले सोही रणनीति अबलम्बन गरेर नै यस सहकारीले साबुन उद्योग, टमाटर सस उद्योग र तेल पेल्ने उद्योगको सञ्चालन गरिसकेको बताउनुभयो ।
आफु संविधानसभा सदस्यमा रहदाँ सहकारी ऐन परिवर्तनमा सबैभन्दाबढी आफ्नो योगदान रहेको जिकिर गर्दै प्रमुख अतिथी डिनाले राज्यले दिने सेवालाई यस सहकारीले प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले १२ लाख रुपैयाँबाट सुरु भएको यस सहकारीले डेढ अर्बको सम्पत्ति र २० अर्बको कारोबार गर्न सफल रहेको दाबी गर्नुभयो । उहाँले सहकारीलाई वार्ड तहमा बिस्तार गर्दै लैजाने पनि बताउनुभयो ।
जिल्लाभार १२ हजारभन्दाबढी शेयर सदस्य बनाउन सफल भएको भन्दै डिनाले महिलाहरुलाई कपास खेतीमा जोड दिने , त्यसको बिऊ र धागो बनाउन इलेक्ट्रिक मेसिन बितरण तथा कपासबाट उत्पादित बस्तुको बजारीकरणमा सघाउने बताउनुभयो । यस सहकारीले ऋण र बचतमा मात्र सिमित नभई कृषि, उद्योग, व्यवसाय लगायतका बृहत क्षेत्रमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथी नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी नामले सहकारी अगाडी बढेको बताउनुभयो । आफु संधै सहकारीसंग हातोमालो गर्न तयार रहेको उहाँको भनाई थियो । उहाँले सहकारी मार्फत हरेक वर्गका मान्छेहरु आत्मनिर्भर बन्न सकेको भन्दै दिव्यतारा सहकारीको प्रगतीको कामना गर्नुभयो ।
कार्यक्रममा सहकारीको हर्नामाडी सेवा केन्द्रका सचिव एवं साधारणसभा अध्यक्ष पुरुषोत्तम अधिकारीले अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो । सहकारीको सेवा केन्द्रको शेयर रकम ७७ लाख ३५ हजार ३०० रुपैयाँ, २ करोड ८१ लाख ६२ हजार १३३ रुपैयाँ २० पैसा बचत रकम रहेको प्रतिबेदनमा उल्लेख छ । सेवा केन्द्रको ७ करोड २ लाख ८३ हजार १११ रुपैयाँ कर्जा रहेकोमा बार्षिक मुनाफा ५७ लाख ७३ हजार ६०४ रुपैयाँ ९ पैसा मूख्य कार्यालयमा बुझाएको प्रतिबेदनमा उल्लेख गरिएको छ । १ हजर २ सय ७४ शेयर सदस्यहरु रहेको हर्नामाडी सेवा केन्द्रको आफ्नै भवन निमार्ण गर्न ३२ लाख रुपैयाँ समेत विनियोजन गरिएको छ ।
कार्यक्रममा असल ऋणीतर्फ जयन्ती अधिकारी, उत्कृष्ट बचतकर्तातर्फ धन कुमारी बम्जन र जेष्ठ नागरिकतर्फ मिन बहादुर रिजाललाई सम्मान गरिएको थियो । कार्यक्रममा दिब्यतारा सहकारीका केन्द्रिय अध्यक्ष डा. गणेश बल, सचिब निलम देवकोटा, सहकारीका सल्लाहकार सुशान्त श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।