हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडी स्थित रामधुनीमा बाम गठबन्धनको निर्वाचन प्रचारप्रसार कार्यालयको सोमबार उद्धघाटन गरिएको छ ।
कार्यालयको उद्धघाटन गर्दै प्रमुख अतिथी एवं मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले आगामी संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन पुन : गठबन्धन सरकारको आवश्यक रहेको बताउनुभयो । उहाँले बिस्तृत शान्ति सम्झौताकै जगमा स्थापित भएको गठबन्धनले मात्रै संविधान र त्यसले दिएको अधिकारको रक्षा गर्न सक्ने जिकिर गर्नुभयो ।
उम्मेदवार डिनाले यस क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भइसकेको दाबी गर्नुभयो । उहाँले प्रतिनिधिसभातर्फ रुख र प्रदेशसभातर्फ गोलाकारभित्रको हँसिया हथौडालाई भोट दिन कार्यकर्तालाई आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका बागमती प्रदेश उपाध्यक्ष एवं निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ का उम्मेदवार प्रेम बहादुर पुलामी छिन्तुले बालकोटले जनआन्दोलन बिरोधीलाई सूर्य चिन्ह बेचेर एमालेका साथीहरुलाई असहज बनाइदिएको बताउनुभयो । उहाँले उक्त असहजतालाई सहज बनाउन साझा र सजिलो हुने बाम गठबन्धनका उम्मेदवारलाई अप्ठ्यारो नमानी भोट दिन एमालेका कार्यकताई आग्रह गर्नुभयो ।
कार्यक्रममा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभा ‘ख’ का उम्मेदवार ईन्द्र बहादुर बानियाँले एमालेको नेता केपी शर्मा ओली ठिक नभएको बताउनुभयो । बानियाँले ओलीको नीति र नियत पनि ठिक नभएको उल्लेख गर्नुभयो ।
उम्मेदवार बानियाँले जबसम्म ओलीले एमालेको नेतृत्व गर्छन् तबसम्म यो असली कम्युनिष्ट नहुने जिकिर गरे । ‘एमालेले कम्युनिष्टको नाममा,गरिबको नाममा, किसानको नाममा, सकुम्बासीको नाममा हिजो कम्युष्टि एकता ग¥यो तर यो नक्कली कम्युनिष्ट रै छ, उहाँले भन्नुभयो –‘नक्कली कम्युनिष्ट भएकै कारण आज केपी शर्मा ओलीसंग को छ भन्दा राजेन्द्र लिङ्देन, कमल थापा र देश टुक्राउछु भन्ने सिके राउत छ । ’
बानियाँले बिस्तृत शान्ति सम्झौताको जगमा रहेको सक्कली कम्युनिष्ट र काँग्रेस साथमा रहेको दाबी गर्नुभयो । सोही कारणले जनताले कहाँ र कस्लाई भोट दिनुपर्ने कुरा प्रष्ट रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नारान प्रसाद तिमल्सिनाले अहिलेको निर्वाचन देबी र दानबबीचको लडाई जस्तै भएको बताउनुभयो । उहाँले देबी र दानबबीचको लडाईमा संधै देबीकै जित भएकाले यस क्षेत्रबाट डिनाको बिजय सुनिश्चित रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक सर्केश घालन मधु, बाम गठबन्धनका क्षेत्र नम्बर १ का निर्वाचन परिचालन समिति संयोजक दामोदर खनाल, माओवादी केन्द्र प्रदेश परिषद सदस्य तिलक निरौला र जिवन गोले, नेकपा एकिकृत समाजबादी सचिवालय सदय कृष्ण बहादुर राई, नेपाली काँग्रेस महासमिति सदस्य उर्मिला पुलामी , नेपाली काँग्रेस क्षेत्र नम्बर १ सभापति शुसान्त श्रेष्ठ, नेकपा एकिकृत समाजबादी नगर संयोजक ध्रुब भुजेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र हेटौंडा १८ का पार्टी अध्यक्ष राजेश मंग्रातीले स्वागत मन्तव्य राख्नुभएको थियो ।