हेटौंडामा छठ पुजाको रौनक, ब्रतालुले दिए अस्ताउँदो सूर्यलाई अर्घ

हेटौंडा । यतिबेला हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ स्थित राप्ती खोला तट छठ पुजाका ब्रतालुहरुले भरिएको छ । हरेक बर्ष यहाँ छठ पुजा आयोजना हुँदै आइरहेको छ । छठ पर्वको आज (आइतबार) मूख्य दिन ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।

दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिकशुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ । कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

राप्ती तटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुहरु रातभर जाग्राम बसी सूर्यको उपसना तथा भजन, किर्तन गर्दछन् । यसका लागि तट क्षेत्रलाई साजसज्जा पार्नुका साथै ब्रतालुहरुलाई कुनै किसिमको समस्या नहुन भनेर सबै तयारीलाई चुस्त बनाइएको आयोजक संयुक्त मधेशी सेवा समाज नेपालले जनाएको छ । छठ पर्वको अवलोकन गर्न बाम गठबन्धनबाट मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा ख का उम्मेदवार ईन्द्र बहादुर बानियाँ र राप्रपाबाट प्रतिनिधिसभा क्षेत्र १ का उम्मेदवार दिपक सिंह पुग्नुभएको छ ।

पहिला तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ । सरकारले आजको दिन सार्वजनिक बिदा समेत दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *