हेटौंडा । बाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले केपी शर्मा ओली लोकतन्त्र बिरोधी भएको दाबी गर्नुभएको छ । शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ र हेटौडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गर्दै नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य खतिवडाले गणतन्त्र ल्याउने आन्दोलनलाई दबाउने कमल थापालाई बुई चढाउने कार्यले ओली लोकतन्त्र बिरोधी भएको प्रष्ट देखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी सबै दल मिलेर गणतन्त्र ल्याउन सडकमा आन्दोलन गरिरहेका थियौं, कमल थापा आन्दोलन दबाउने अभियानमा सक्रिय थिए, आज तिनै गणतन्त्र बिरोधीलाई अहिलेको निर्वाचनमा एमालेबाट उम्मेदवार बनाउने ओली लोकतन्त्र र गणतन्त्रको पक्षमा छैन भन्ने प्रष्ट बुझिन्छ ।’
उहाँले अबको निर्वाचनमा देशैभर बाम गठबन्धनको बिजय हुने र उसले देशलाई समृद्धितर्फ लैजाने जिकिर गर्नुभयो ।
त्यस्तै नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य तथा प्रदेश सभा मकवानपुर २ (क) उम्मेद्वार मोक्तानले लामो संघर्षका कारण ब्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न अनुरोध गर्नुभयो । दुबै उम्मेद्वारले समतामूलक बिकास र लोकतन्त्रको रक्षाका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरि बिजयी गराउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटि सदस्य लबशेर बिष्ट, नेकपा एकीकृत समाजबादीका मकवानपुर सचिब बिष्णु दाहाल, मकवानपुरगढी सभापति राजबिर मोक्तान , प्रेस सेण्टर नेपालका केन्द्रिय सदस्य ध्रुब राज ढकाल लगायतको उपस्थिति रहेको थियो ।