हेटौंडाको तरकारी बजारमा आगलागी, आधा दर्जनबढी तरकारी पसल जलेर नष्ट

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० टिसिएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ । आज बिहीवार टिसिएनको मिना साहको होटलबाट सल्किएको आगो तरकारी बजारमा फैलिएको हो । आगलागीबाट लाखौँ रुपैयाँको सामान जलेर नष्ट भएको छ ।

तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । आगलागीबाट यहाँका आधा दर्जनभन्दा धेरै तरकारी पसल जलेर नष्ट भएको छ ।

आगलागी भएपछि बसपार्कभित्र रहेका ग्यासका सिलिन्डर पड्किँदा स्थानीयवासी त्रसित भएका थिए । तरकारी बजार नजिकै रहेको होटलबाट सल्किएको आगो हेटौँडा उपमहानगरपालिकाको दमकल तथा सशस्त्र, जनपथ प्रहरी, स्थानीयवासीको सहयोगमा झन्डै एक घण्टापछि निभाइएको हो ।

हेटौँडाको मुख्य बजार क्षेत्रमा रहेको यस तरकारी बजारमा टिन र काठले बनाइएका पूर्वाधार भएकाले आगो निभाउन कठिन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *