हेटौंडामा सिस्नुपानीको हास्यव्यङ्ग्यमय देउसी–भैलो

हेटौंडा । सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्यमय देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । शनिबार हेटौंडामा भएको सो कार्यक्रम २ सय बढी दर्शकहरूमाझ सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न प्यारोडी गीतहरूका साथै हास्यव्यङ्ग्यमय भजन, प्रवचन आदिमार्फत् वेथितिमाथि व्यङ्ग्य प्रहार गरिएको थियो । वरीष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालद्वारा शङ्खनाद गरी शुरु भएको सो कार्यक्रम क्लब हेटौंडामा सञ्चालन भएको हो । संस्थाका अध्यक्ष राजकुमार लामिछानेले विभिन्न व्यक्तीहरूलाई कार्यक्रममा आमन्त्रण गरी उठबस गराइरहन उचित नदेखिएकोले आशन ग्रहणको कार्यक्रम नराखिएको बताउँदा दर्शक दीर्घामा खुशी देखिएको थियो । कार्यक्रम सकिने बेलासम्म आशन गराउने परम्परालाई तोड्दै जुन उद्देश्यका लागि कार्यक्रम तय गरिएको हो, त्यो नै पूरा गर्नुमा जोड दिइएको उहाँले बताउनु भयो ।

कार्यक्रममा हास्यव्यङ्ग्यमय भजन गायन गरेका ओमभक्त भण्डारीको टोलीको प्रस्तुतिले निकै वाहवाही पाएको थियो । अध्यक्ष राजकुमार लामिछानेको प्रवचनमा एमसिसी, उपाध्यक्ष मीनप्रसाद लामिछानेको देउसीमा विविध जनता र राजनीतिक विषयवस्तु, सानुभाई कार्कीको प्यारोडीमा गठबन्धन, स्वस्तिका दाहालको प्यारोडीमा नागरिकता, संप्रस पौडेलको प्यारोडीमा सहीद बनाउने होडबाजी लगायत सिस्नुपानी टोलीले आफैं सिर्जना गरेका रचनाहरूले तिखो व्यङ्ग्य प्रहार गरेको थियो ।

शिक्षासेवी पुरनबहादुर जोशी, एनजिओकर्मी कृष्ण धिताल, विनोद सुवेदी, दिनेश भण्डारी, स्वास्थ्य मन्त्री विरोध खतिवडा, जिल्ला हुलाक कार्यालयका कर्मचारी समूहबाट रमेश लामिछाने, बुढ्यौली समाजतर्फबाट आर.सी. रिजाल आदिले नगद सहयोग गर्नु भएको थियो ।

यस्तै सिस्नुपानी मकवानपुरकी कान्छी सदस्य स्वस्तिका दाहाललाई प्यारोडी गायनका कारण कार्यक्रमस्थलमैं पुरस्कार समेत मिलेको थियो । सिस्नुपानी मकवानपुरका सल्लाहकार आशाकाजी श्रेष्ठले सांगीतिक टोलीका प्रमुखको भूमिकामा रही केही सांगीतिक प्रस्तुती दिनु भएको थियो । प्रलय चौलागाई, सुनिल केसी, विश्वराज अधिकारी तथा प्रमेन्द्र महर्जनको साथमा सांगीतिक जिम्मेवारी बहन गर्नु भएको थियो । गायक तथा संगीतकार चौलागाईँले गाउनु भएको ‘उडेर आयो चिल गाडी सरर’ बोलको मार्मिक गीत मार्फत् विदेशिनेका पीडा व्यक्त गरिएको थियो ।

सिस्नुपानी नेपालले हरेक वर्ष गर्ने देउसी भैलो कार्यक्रमलाई मकवानपुर शाखाले अघिल्लो वर्षदेखि निरन्तरता दिँदै आइरहेको छ । हेटौंडा उपमहानगरपालिका, टाइगर वाइनरी प्रालि, स्नोम्यान वाइनरी प्रालि, मकवानपुर जागरण अभियान, गुडविल कम्प्युटर स्कूल, विज्ञ कम्प्युटर सप्लायर्स, वर्ल्ड लिङ्क कम्युनिकेसन आदि सो कार्यक्रमका सहयोगी रहेका थिए भने गत वर्षझैं यो वर्ष पनि सो कार्यक्रम टिम टिभीले प्रत्यक्ष प्रशारण गरेको छ ।

सिस्नुपानी मकवानपुर समूह तथा गायनमा सकृय महिलाहरूको टोलीको भैलीबाट शुरु भएको विशेष प्रस्तुतिको अन्त्य संगीतकर्मी गहन खतिवडाको आशिष गायनपछि समापन भएको थियो । कार्यक्रम रेडियोकर्मी तथा अधिवक्ता विनिता महतले सञ्चालन गर्नु भएको थियो ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.