काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताउनुभएको छ ।
आज बिहीबार ललितपुरमा भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताउनुभयो ।
उहाँले नेपाल–चीनबीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताउनुभयो । उहाँले जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गर्नुभयो ।
उहाँले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताउनुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गर्नुभयो ।
मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो । चीनको विकास, उन्नती र आर्थिक प्रगतिको कामना गर्नुभयो ।