सिरहा । हत्याको अनुसन्धानका क्रममा हिरासतमा रहेकी एक महिलालाई प्रहरीले चरम यातना दिएको खुलासा भएको छ । मिर्चैया नगरपालिका–१ स्थित रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाइको गत असोज १५ गते भएको हत्या अनुसन्धानको क्रममा उनकै बुहारी ३३ वर्षीया जिवछीदेवीलाई गत शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएकी जिवछीलाई अनुसन्धानको क्रममा हिरासतभित्रै प्रहरीले करेण्ट लगाई पाइपले संवेदनशील अंगसहित शरीरका अन्य भागमा यत्रतत्र कुटपिट गरेको खुलेको छ । प्रहरीको चरम यातनाले घाइते भएकी जिवछीलाई मिर्चैया अस्पतालमा उपचार गरिएपछि यातना दिएको सार्वजनिक भएको थियो । अस्पतालले घाइते जिवछीको शरीरका विभिन्न अंगमा निलडाम देखिएको जनाएको छ ।
घटना सार्वजनिक भएपछि जिवछीलाई भेट्न आफन्त अस्पताल परिसरमै पुगेका थिए । उपचाररत जिवछीले हिरासतभित्र पुरुष प्रहरीले आफूलाई करेण्ट लगाउनुको साथै हात, पैताला, पाखुरा र शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको र महिला प्रहरीले तल्लो अंगमा ठोस वस्तु प्रवेश गराएर चरम यातना दिएको आफन्त, सञ्चारकर्मी र अधिकारकर्मीसमक्ष बताइन् ।
यातनाकै क्रममा प्रहरीले आफ्नो ओठमा स्टिच पिनले च्यापेपछि जबर्जस्ती हत्यामा ससूरा मंगल साहको नाम टिपाएको यातनाका पीडित जिवछीले बताइन् । जिवछीलाई सोमबार हिरासतमुक्त गरिएको थियो ।
मानव अधिकार एलाइन्सका मधेस प्रदेश अध्यक्ष एवं मानव अधिकार सञ्जाल सिरहाका संयोजक देवराज पोखरेलले पीडित जिवछीको उपचारका क्रमममा शरीरका विभिन्न भागमा नीलडाम देखिएकाले प्रकृति संवेदनशील रहेकोले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । ‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न पाउनुपर्छ,’ उनले भने, ‘तर अनुसन्धानमा कसैलाई पनि चरम यातना दिइनु हुँदैन । संविधानको मौलिक हकमा यातना विरुद्धको हकले प्रत्याभूति गरेको नागरिक अधिकार स्थापित गर्न माग गर्छु ।’
पति र छोरा पक्राउ
मिर्चैया प्रहरीले गुबदीदेवी साहको हत्या आरोपमा उनकै पति ७० वर्षीय मंगल साह र छोरा (जीवछीकी पति) ४० वर्षीय रामबाबु साहलाई पक्राउ गरेको छ । उनीहरुलाई अनुसन्धानको लागि जिल्ला अदालतबाट म्याद थप गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन प्रसाद तिमल्सिनाले जानकारी दिए ।