नेपालगञ्ज। बर्सेनि करिब ६० क्विन्टल धान उत्पादन गर्ने नरैनापुर ४ का इसराफिल खानको घरमा अहिले एक किलो पनि धान छैन ।
६० क्विन्टल धान मध्ये परिवारका लागि खान पुग्ने राखेर बाँकी सबै बिक्री गर्दै आउनुभएका उहाँले यस वर्ष के खाने भन्ने चिन्ताले सताउन शुरु गरेको बताउनुभयो ।
उहाँले पहिले सुख्खा र पछि बाढीले डुबान गरेपछि धान उत्पादन नभएको जनाउँदै कसरी बालबच्चाको पेट भर्ने हो भन्ने चुनौती नै अहिलेको ठूलो समस्यामा पारेको बताउनुभयो ।
यसै गरी नरैनापुर–४ का शरिफ खानको खेतमा पनि अहिले कुनै बाली छैन । गत वर्ष २२ बिगाहमा लगाएको धान बेमौसमी वर्षाले सखाप पारेको पीडा समाप्त हुन नपाउँदै यो वर्ष समयमै वर्षा नहुँदा उहाँले दुई बिगाहमा मात्र धान रोपाइँ गर्न भ्याउनुभयो ।
तर, दुई बिगाहाको सो धान पनि वर्षाले भएको डुबानमा परेर नष्ट भएपछि उत्पादन नै भएन । धान खेतमै क्षति पुग्यो । लगातार दुई वर्ष उहाँले एक दाना पनि धान उत्पादन गर्न सक्नुभएन ।
धान उत्पादन शून्य भएपछि अहिले खानको परिवारमा खाद्य संकट शुरु भएको छ । घरमा खाने चामल नभएर समस्या भइरहेको उहाँले बताउनुभयो ।
खान जस्तै नरैनापुरका जलिल मनिहारको पनि खेत यो वर्ष समयमा वर्षा नहुँदा बाँझै बन्यो । उहाँले बोरिङको पानीले थोरै रोपाइँ गर्नुभयो तर, बेमौसमको भीषण वर्षाले सबै सखाप पा¥यो । मनिहारको प्रमुख आर्थिक स्रोत नै खेती भए पनि धान एक दाना नहुँदा अहिले उहाँको परिवारमा पनि खाद्य संकट शुरु भइसकेको छ ।
लगातार दुई वर्ष उत्पादन नहुँदा खाद्य संकटको सामना गर्नुपर्ने बाध्यता सो क्षेत्रका अधिकांश बासिन्दालाई आइपरेको छ ।
बाँकेको दुर्गम भनेर चिनिने नरैनापुरमा यो वर्ष ९५ प्रतिशत खेतीयोग्य जमिन बाँझै छ । समयमै वर्षा नहुँदा यहाँका किसानले धान रोपाइँ नै गर्न पाएनन् भने केहिले थोरै रोपे पनि बेमौसमको ठूलो वर्षाले त्यसलाई सखाप पार्यो ।
नरैनापुरमा चार हजार ९६६ हेक्टर जमिन खेतीयोग्य छ, तर यस पटक अधिकांश जमिन बाँझै छ ।
गत वर्ष धान भित्र्याउन नपाउनु, यस वर्ष रोपाइँ नहुनु र अलिकति भएको रोपाइँ पनि वर्षाले सखाप पार्दा नरैनापुरमा खाद्य संकट शुरु भइसकेको गाउँपालिकाले जनाएको छ । पहिले सुख्खा र पछि डुबानका कारण पालिकामा खाद्य संकट शुरु भइसकेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मिकान्त मिश्राले बताउनुभयो ।
उहाँका अनुसार वडा नम्बर ५ र ६ मा मात्र केही रोपाइँ भएको थियो तर, वर्षाले सो पनि सखाप बनायो ।
सो पालिकाको प्रमुख बाली नै रोपाइँ र उत्पादन नभएपछि पालिका चरम खाद्य संकटको जोखिममा परेको सूचना अधिकारी मिश्राको भनाइ छ । उहाँले अर्थ मन्त्रीले आफँ आएर सुख्खाको अवस्था हेरेर गए पनि राहतको नाममा केही नभएको बताउनुभयो ।
लगातार दुई वर्ष उत्पादन नहुँदा चरम खाद्य संकट झेल्नुपरेको स्थानीयले बताएका छन् ।