डेंगीबाट मृत्यु हुनेको संख्या ४७ पुग्यो

काठमाडौं । साउनयता डेंगी संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ४७ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २७ गतेसम्म संक्रमितको संख्या ३८ हजार ९१८ र मृतकको संख्या ४७ पुगेको हो ।

हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै काठमाडौंमा १२ हजार १०२ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा ८ हजार ५५४ र भक्तपुरमा २ हजार ४७५ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या २३ हजार १३१ पुगेको छ ।

उपत्यका बाहिर मकवानपुरमा ३ हजार ९३३, दाङमा २ हजार पाँच, चितवनमा १ हजार ३८९ तथा रुपन्देहीमा १ हजार १७५ जनामा संक्रमण देखिएको छ ।

महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या २ देखि ७०० जनासम्म रहेका छन् । नेपालमा डेंगी संक्रमण नियन्त्रणका लागि लामखुट्टे निर्मुल अभियान नै चलाउनुपर्ने विज्ञहरू बताउँछन् । त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मुल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरूको जोड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *