सिन्धुली । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा नै निर्माण सम्पन्न हुने बताएकी छिन् ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारमा शुक्रबारदेखि टनेल बोरिङ मेसिनले खन्न लागेको सुरुङ्को स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री भुसालले सञ्चारकर्मीसँग उक्त धारणा राखे। उनले आयोजना निर्धारित समयमा नै बन्नेमा आफू विश्वस्त रहेको बताउँदै प्राविधिक रुपमा पनि एकदमै ठूलो परिवर्तन (रिभुलेसन) भएको सुनाए ।
उनले भने, ‘पैदल हिँड्ने मानिस गाडीमा हिँडेजस्तो र गाडीमा हिँड्ने मानिस जहाजमा हिँडेजस्तो एकदमै ठूलो रिभुलेसन हो ।’ सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले मुलुकले व्यहोर्दै आएको असन्तुलित व्यापार घाटा घटाउन निकै सहयोग पुग्ने उनको भनाइ थियो । मन्त्री भुसालले तराईको एक लाख २२ हजार हेक्टर जमिनमा १२ महिना सिंचाई सुविधा पुगी वार्षिक २६ अर्ब रुपियाँ बराबरको कृषि उत्पादन बढ्ने सुनाए ।
‘उक्त आयोजना अन्तर्गत उत्पादन हुने बिजुलीबाट वार्षिक एक अर्ब ५५ करोड रुपियाँ आम्दानी हुन्छ,’ उनले भने, ‘झण्डै २८ अर्ब रुपियाँ वार्षिक देशलाई आम्दानी हुन्छ । आर्थिक विकासका दृष्टिले हेर्ने हो भने ‘माईलस्टोन’को योजना हुन्छ । भौतिक पूर्वाधारको हिसाबले मात्र होईन, आर्थिक उत्पादनको हिसाबले पनि ।’
सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण पुरा भएपछि रोजगारी सिर्जना हुने र खाद्यान्नमा विदेश जाने पैसा बचेर त्यसले देशको आयस्तरलाई माथि पु¥याउने मन्त्री भुसालको भनाई थियो । उक्त आयोजना राष्ट्रको समृद्धि र जनताको सम्पन्नता सपना पुरा गर्ने एउटा महत्वपूर्ण आयाम भएको उनले बताए ।
सुनकोशी–मरिण डाइभर्सनको १३ दशमलब तीन किलोमिटर लामो सुरुङ् मार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङ (कोभेक)ले पाएको छ । उक्त कम्पनिले टनेल बोरिङ मेशिन ९टिबिएम० बाट दुई वर्षभित्र खनिसक्ने सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालले उक्त कम्पनिले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको जानकारी दिए ।
उनका अनुसार कुसुमटारमा प्लेटफर्म निर्माणको काम पुरा गरेपछि टिविएम मेसिनबाट शुक्रबारदेखि सुरङ खन्न सुरु गरिएको हो । उक्त कम्पनीले भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणको पनि ठेक्का पाएको छ । पानी बग्ने ५ दशमलब ५ डायमिटर रहने गरी अहिले ६ दशमलब ६ डायमिटरको सुरुङ मेसिनले खन्ने छ ।
सुरुङ खन्नेक्रममा भौैगभिर्क समस्या नआए दुई वर्षभित्र खनिसक्ने योजना रहेको छ । सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङ मार्फत प्रतिसेकेण्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिणखोलामा खसालिने छ । त्यहाँ ६६ मिटर हेटडबाट पानी झारेर ३१ दशमलब ०७ मेघावाट विद्युत उत्पादन गरिने छ । उत्पादित विद्युत ३७ दशमलब दुई डबल सर्किट प्रशारण लाईन मार्फत राष्ट्रिय ग्रिड अन्तर्गत नबलपुर सबस्टेशनमा जोडिने उनले बताए ।
आर्थिक वर्ष ०७७÷०७८ बाट शुरु भएको उक्त आयोजना ०८२÷०८३ सम्ममा सक्ने लक्ष्य रहेको र आयोजनाको कुल लागत करिब ४६ अर्ब रुपैयाँ रहेको उनले बताए । बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिंचाई सुविधा पु¥याउने रहेको छ ।