हेटौंडा । मकवानपुरका सञ्चारकर्मीहरुलाई निशुल्क आँखा परिक्षण शिविर आज सञ्चालन भएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको समन्वयमा शिविर सञ्चालन भएको हो ।
शिविरमा १८ जना महिलासहित ६६ जना पत्रकारहरुको आँखा परिक्षण गरिएको छ । परिक्षणपछि आवश्यक औषधी समेत निशुल्क वितरण गरिएको छ ।
परिक्षण गराएका अधिकांश पत्रकारहरुमा नजिक/टाढा नदेख्ने, आँखा चिलाउने, सुख्खा हुने लगायतका समस्या देखिएको अप्थाल्मिक अफिसर रिना खड्कीले बताए । उनका अनुसार आँखामा सामान्य बाहेकका अन्य समस्या भएका केहि पत्रकारहरुलाई भने अस्पतालमै आएर उपचार लिन सुझाइएको छ । अस्पतालका सिनियर आई हेल्थर र नेत्र सहायकले आँखा परिक्षण गरेका थिए ।
आयोजक पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमले पत्रकारहरुले समाचार लेखन, सम्पादन तथा प्राविधिक जिम्मेवारीमा रहदाँ कम्प्युटर, ल्यापटपमा अधिकांश समय व्यथित गर्नुपर्ने भएकाले आँखा शिविर सञ्चालन गरिएको बताए । उनले आगामी दिनमा पत्रकारको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अन्य स्वास्थ्य शिविर सञ्चालन गरिने समेत जानकारी दिए ।