हेटौंडा । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दिएकाहरुको उम्मेदवारी कायम भएको छ । आज बुधबार उम्मेदवारी फिर्ता लिने समयावधि रहेतापनि कुनैपनि उम्मेदवारविरुद्ध दाबी, विरोध तथा उम्मेदवारी फिर्ता नभएपछि निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गरेको हो ।
मनोनयन दर्ताको दिन ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उनीहरु विरुद्ध कुनै उजुरी नपरेपछि सबै उम्मेदवारहरुको उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए ।
मकवानपुरका दुई वटा प्रतिनिधि सभा क्षेत्र र चार वटा प्रदेश सभा क्षेत्र गरी ६ वटा क्षेत्रमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । जिल्लामा प्रतिनिधि सभातर्फ २६ जना र प्रदेश सभातर्फ ४३ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
प्रतिनिधि सभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्वर १ बाट २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्वर २ बाट एक जना स्वतन्त्रसहित १० जना गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
यसैगरी, प्रदेश सभा सदस्य पदमा मकवापुर क्षेत्र नम्वर १ (क) मा ८ जना, (ख) मा १० जना र क्षेत्र नम्वर २ (क) मा १० जना र (ख) मा १५ जना गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।