चुनावी तयारीको कारण देखाउदै पल शाहको पेशी स्थगित

तनहुँ । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारमा रहेका अभिनेता पल शाहविरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आज बुधवारका लागि तोकिएको पेसी स्थगित भएको हो ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको तयारीका कारण शाहविरुद्धको सुनुवाइ स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाहविरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताको पत्रका कारण आजको सुनुवाइ स्थगित भएको हो । जिल्ला न्यायाधीश दलबहादुर केसी मुख्य निर्वाचन अधिकृत र जिल्ला न्यायाधिवक्ता गोविन्द उपाध्याय निर्वाचन अधिकृतका रूपमा खटिएका छन् ।

चुनावका कारण जिल्ला न्यायाधिवक्ताको पत्रका कारण फौजदारीतर्फका आजका सबै मुद्दाको सुनुवाइ स्थगित भएको तनहुँ अदालत बार एसोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *