

असोज २४ गते, हेटौंडा । आगामी मंंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा सत्तारुढ गठबन्धनतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दुई वटा प्रतिनिधि र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेपाली काँग्रेसबाट ३, नेकपा समाजबादी (एस) बाट १ र नेकपा माओवादी केन्द्रबाट २ जना उम्मेदवार छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय (डीना) ले आफ्नो उम्मेदवारी दिएकी छिन् भने प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा नेकपा एसका उम्मेदवार विरोध खतिवडाले मनोनयन दर्ता गरेका छन् ।
त्यसैगरी क्षेत्र १ को प्रदेश सभा (क) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर पुलामी, र प्रदेशसभा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा माओवादी केन्द्रकी कुमारी मोक्तान तथा क्षेत्र नम्बर–२ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका तर्फबाट ईन्द्र बहादुर बानियाँले मनोनयन दर्ता गरेका छन् ।

यता प्रदेशसभा क्षेत्र नम्बर–१ (ख) मा कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले मनोनयन दर्ता गरिसकेका छन्।
कांग्रेस चोकबाट बाजागाँजा सहित सत्तारुढ गठबन्धनका नेता कार्यकर्ता मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको पुगेका थिए । उनीहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
