काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २ हजार ४५२ जना र प्रदेशसभा सदस्यका लागि ३ हजार ३२६ जनाको उम्मेदवारी परेको जनाएको छ ।
आयोगद्वारा जारी विज्ञप्ति अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा प्रतिनिधिसभाअन्तर्गत देशभर २ हजार २२३ पुरुष र २२९ महिला गरी कूल २ हजार ४५२ जनाले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
प्राप्त विवरणअनुसार प्रदेशसभातर्फ ३ हजार ३९ जना पुरुष, २८६ जना महिला र १ जना अन्य गरी जम्मा ३ हजार ३२६ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सहसचिव एवं आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा जारी विज्ञप्ति अनुसार तोकिएको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य जारी रहेको छ । कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै छ ।