सत्तागठबन्धनको बैठक छाडेर ओलीलाई भेट्न पुगे जसपा अध्यक्ष यादब

असोज २० गते, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्ता गठबन्धनको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्। बालकोटमा अहिले एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच भेट भइरहेको छ।

सत्ता गठबन्धनमा बस्दा १६ सिटभन्दा धेरै नपाउने भएपछि जसपा एमालेको सम्पर्कमा पुगेको स्रोतले बतायो। एमालेले २५ सिट दिन तयार भएको जसपाको दाबी छ। दुई-तीनवटा क्षेत्रमा कुरा मिल्न बाँकी रहेकाले बिहीबार मध्यरातसम्म सहमतिमा पुग्न सक्ने स्रोतले जानकारी दियो।

जसपाका प्रवक्ता मनिष सुमनले भने आफू बालुवाटारमा छलफलका लागि आएक‍ो तर अध्यक्ष यादव त्यहाँ नभएको बताएका छन्।

जसपा अध्यक्ष यादव र एमालेका अन्य नेताहरूबीच पनि निरन्तर छलफल चलिरहेको छ। एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले जसपा एमालेको सम्पर्कमा रहेको बताए।

यसबीच प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पाँचदलीय गठबन्धन तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट गर्ने सम्बन्धमा बिहीबार बिहानदेखि बालुवाटारमा बैठक जारी छ। पाँचदलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिम रूप दिन बैठक बसेको हो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तोकिएको छ। त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँट गरी दलले उम्मेदवार तोक्नुपर्छ। यसका लागि दुई दिन मात्र बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *