असोज १७ गते, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ ले आयोजना गरेको वडास्तरीय फुटबल प्रतियोगिता आज सकिएको छ ।
आइतबार भएको फाइनल खेलमा वडा नम्बर ४ ‘ बी ’ बिजयी भएको छ । ४ ‘ बी ’ ले आयोजक टिम ‘ए ‘ लाई २–१ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुबै टिम बराबरीमा रहेतापनि दोस्रो हाफमा वडा नम्बर ४ ‘ बी ’ ले थप एक गोल गरेपछि उसले आफ्नो जित सुनिश्चित गरेको हो । जितसंगै वडा नम्बर ४ ‘ बी ’ ले नगद ८० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै दोस्रो हुने आयोजक टिम वडा नम्बर २ ले नगद ४० हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेल अवधिभर उत्कृष्ट खेल प्रर्दशन गरेवापत अमर पाख्रिन सर्वोत्कृष्ट खेलाडी बनेका छन् । उनले नगद ३ हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । त्यसैगरी अरुण् थिङ सर्वाधिक गोलकर्ता, म्यान अफ दि म्याच अनिल मोक्तान, उत्कृष्ट गोल रक्षक अमृत पाख्रिन, बेष्ट डिफेन्डर अरुण आले , बेष्ट मिडफिल्डर उमेश थिङ र बेष्ट फर्वाड आकाश राना बन्न सफल भए ।
यहि असोज १० गतेबाट सुरु भएको प्रतियोगितामा गाउँपालिकाभरका ९ वटै वडाका १२ टिमको सहभागीता रहेको थियो । स्थानीयस्तरबाटै खेलकुद क्षेत्रको विकास गर्न मद्धत पुग्ने हेतुले प्रतियोगिता आयोजना गरिएको आयोजक २ नम्बर वडास्तरीय खेलकुद बिकास समितीका अध्यक्ष जय बहादुर गोलेले बताउनुभयो ।