गोरखाको फूलपाती हनुमानढोकाको दशैँघर पठाइयो

असोज १६ गते, गोरखा । गोरखकाली मन्दिरको दशैँघरबाट काठमाण्डौको हनुमानढोकामा रहेको दशैँघरमा फूलपाती लगिएको छ । गोर्खामा विधिपूर्वक गएराति संंकलन गरिएको फूलपाती आज बिहान मोटरमा राखेर हनुमानढोका पठाइएको हो ।

गोरखकाली मन्दिरका पुजारी र सुसारेले अघिल्लो दिन गोर्खा नगरपालिका वडा नम्बर ८ को पिप्लेफाँटमा विधिपूर्वक संकलन गरेको फूलपाती काठमाण्डौ पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताउनुभयो ।

दरबार परिसरको चण्डीथानका पूजारी कुलबहादुर थापा र नेपाल प्रहरीका सिपाही देवकुमार थापा बा २ झ ३८८२ नम्बरको सरकारी गाडीमा फूलपाती लिएर काठमाण्डौ जानुभएको हो ।

फूलपाती पठाउने क्रममा बाजागाजासहित हर्षोल्लास मनाइएको थियो । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाण्डौ राज्य जितेपछि गोर्खाबाट फूलपाती हनुमानढोका दशैँघरमा लैजाने परम्परा बसेको हो ।

उहाँले विसं १८२५ सालमा काठमाण्डौमा विजय प्राप्त गर्नुभएको थियो । त्यतिबेला गोर्खा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो ।

राणाकाल सुरु भएपछि फूलपाती लैजाने परम्परा अवरुद्ध भएको थियो । जंगबहादुर राणाको उदयपछि फूलपातीको परम्परा अवरुद्ध भएको गोर्खा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताउनुभयो ।

काठमाण्डौ र गोर्खालाई पृथ्वीराजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाण्डौ पठाउने चलन सुरु भएको उहाँको भनाइ छ । यसै परम्परालाई निरन्तरता दिँदै यो वर्ष पनि मोटरमार्फत फूलपाती काठमाण्डौ पठाइएको गोर्खा दरबार हेरचाह अड्डाका प्रमुख भुषालले बताउनुभयो ।

फूलपाती काठमाण्डौ लैजाने परम्पराको निरन्तरताले ऐतिहासिक पक्षको संरक्षण हुनुका साथै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने गोर्खा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बताउनुभयो । पृथ्वीनारायण शाहको पालादेखि चलेको परम्परालाई निरन्तरता दिनु पाउनु खुसीको कुरा भएको उहाँले बताउनुभयो । ujjyaaloonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *