असोज १४ गते, एजेन्सी । रुसले युक्रेनका चार वटा भू–भाग आफूमा गाभिएको घोषणा गरेको छ । मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लुहान्स्क, डोनेत्स्क, जापोरिजिया र खेहर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
पुटिनले चार वटा क्षेत्रमा बसोवास गर्ने मानिसहरूले रुसमा गाभिने चाहना व्यक्त गरेको भन्दै ती क्षेत्र रुसी महासङ्घको नयाँ क्षेत्र भएको दाबी गरे। रुसी सेनाले ती क्षेत्रमा केही दिनअघि जनमत सङ्ग्रह गरेको बताएको थियो । रुसीले गरेको भनेको जनमत सङ्ग्रहलाई पश्चिमा देशहरूले भने भर्त्सना गर्दै कहिल्यै स्वीकार नगर्ने बताएका छन् । पुटिनले इतिहासमा पुस्तौँदेखि रुसीहरूले यो भू–भागका लागि लडेको दाबी पनि गरे ।
कार्यक्रममा रुसले त्यस क्षेत्रमा नियुक्त गरेका चार जना अधिकारीहरूले विलयसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले सोभियत सङ्घलाई पुनर्स्थापित गर्न नखोजेको पनि बताए ।
सन् १९९१ मा सोभियत सङ्घ विघटनपछि युक्रेन देशको रूपमा उदाएको थियो । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि दुई देशबीच सात महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ ।