मन्दिरभित्र प्रवेश गरेकाे भन्दै दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

असोज १३ गते , बाजुरा ।  बाजुरामा मन्दिरमा प्रवेश गरेकाे भन्दै दलितमाथि कुटपिट गर्ने वडा अध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ । 

त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारलाई कुटपिट गर्ने वडा नम्बर ७ का अध्यक्ष जुद्धबहादुर अयडीसहित तीन जनाविरुद्ध आज बिहीवार जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  

वडाअध्यक्ष अयडीसहित त्रिवेणी नगरपालिका ७ कै रङ्गलाल पाध्याय र विनोद अयडी फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

घटस्थापनाका अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बूढीगङ्गा नगरपालिका ५ नुवाघर घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखाल बस्दै आएका सुनारमाथि वडाध्यक्ष अयडीसहितको समूहले कानुनले बर्जित गरेका शब्द प्रयोग गरी कुटपिट तथा जातीयरूपमा विभेद गरेका थिए । उनीहरूले ६० हजार रुपैयाँ नगद पनि लुटेका पनि सुनारले आरोप लगाउनुभएको छ । मन्दिरमा पूजा गरिरहेको बेला कुटपिटपछि सुनारको आँखा, ढाड, छातीमा चोट लागेको छ । 

जातीय छुवाछुत गर्नेलाई तीस हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना सजायको व्यवस्था नेपालको कानुनमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *