आज विश्व मुटु दिवस, ट्रान्स फ्याट घटाऔँ, मुटु बचाऔँ


असोज १३ गते, काठमाडौं । आज विश्व मुटु दिवस, नेपालमा ‘मन लगाउँ, सबैको मुटु बचाउँ’ तथा विश्वव्यापी रुपमा ‘युज हार्ट फर एभ्री हार्ट’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालमा अहिले करिब ७५ लाख जनामा कुनै न कुनै प्रकारका मुटुसम्बन्धी समस्या देखिएको छ । उक्त संख्यामा विगत २० वर्षयता मात्रै ५ गुणाले वृद्धि भइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

मुटुरोगी बढ्दै जानुमा धूमपान, मद्यपान, खानामा गुलियो र चिल्लोको प्रयोग र व्यायामको कमीजस्ता मुख्य कारणहरु रहेको पाइएको छ । मुटुलाई हानी गर्नेमध्ये अधिक चिल्लो पदार्थको एउटा स्रोत ट्रान्स फ्याट हो ।

के हो ट्रान्स फ्याट ?

तयारी खानेकुरामा हुने अति खराब चिल्लोको मात्रालाई ट्रान्स फ्याट भनिन्छ । ट्रान्सफ्याट दुईवटा स्रोतबाट पाइन्छ, प्राकृतिक र कृत्रिम । प्राकृतिक ट्रान्स फ्याट माछामासु तथा दूग्धजन्य खानेकुराबाट पाइन्छ । चौपायाको मासुमा तीनदेखि नौ प्रतिशतसम्म र दूधजन्य खानेकुरामा दुईदेखि ६ प्रतिशत ट्रान्स फ्याट पाइन्छ ।


एक वयस्क व्यक्तिले दैनिक दुई हजार क्यालोरी उर्जा दिने खाना खानुपर्छ । जसमध्ये एक प्रतिशत अर्थात् दुई ग्राम ट्रान्स फ्याटयुक्त खाना खानु पर्याप्त हुने वरिष्ठ हृदयरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । दुई ग्राम भनेको आधा चिया चम्चाभन्दा कम हुन जान्छ ।

कृत्रिम रुपमा पाइने ट्रान्स फ्याटले व्यक्तिको शरीरमा अति नकारात्मक असर गर्दछ । कृत्रिम ट्रान्स फ्याटको मुख्य स्रोत धेरैबेर तताएको तेल, पटक पटक तताएको तेल तथा वनस्पति घिउ हुन् ।

रुम टेम्प्रेचरमा जम्ने चिल्लो पदार्थहरुमा ट्रान्स फ्याटको मात्रा बढी छ भन्ने पुष्टि हुन्छ । यस्तो तेल वा घिउमा पकाएको खानेकुरामा अत्यधिक मात्रामा ट्रान्स फ्याट पाइन्छ । त्यस्तै, जंक फूड, बजारमा पाइने तयारी खानेकुरा, बेकरी आइटम, प्याकेटमा पाइने खानेकुरा, मिठाइका परिकारलगायतमा शरीरलाई चाहिनेभन्दा बढी ट्रान्स फ्याटको मात्रा हुन्छ ।

त्यस्तै, उद्योगबाट उत्पादित केही चिल्लो पदार्थहरु जसलाई पार्सियल्ली हाइड्रेजेनेटेड ओइल अर्थात् पीएचओ भनिन्छ, यस्ता खाद्यन्नमा केही मात्रामा हाइड्रोजनको अणु मिसाएर बनाइएको हुन्छ । यस्ता खाद्यपदार्थको स्वाद मिठो भए पनि स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै हानिकारक हुन्छन् । घरमा बनाएका खानेकुरामा पनि अत्यधिक रुपमा तारेको खानेकुरामा पनि ट्रान्स फ्याट हुनसक्ने विशेषज्ञहरु बताउँछन् ।

ट्रान्स फ्याटले यसरी निम्त्याउँछ घातक रोग

ट्रान्स फ्याटले रगतमा खराब कोलेस्ट्रोलको मात्रा बढाएर प्राकृतिक कोलेस्ट्रोलको मात्रालाई घटाइदिन्छ । रक्तनलीहरुको भित्री भागमा रगतको थेग्ला जमाउने सम्भावना बढाउँछ र रक्तनलीहरु साँघुरिने क्रम बढाउँछ । यसरी ट्रान्स फ्याटले हृदयघात तथा मस्तिष्कघातको सम्भावना बढाउँछ । त्यस्तै– मधुमेह, बाथरोग जस्ता समस्या पनि निम्त्याउन सक्छ ।

कसरी घटाउने ट्रान्स फ्याटको प्रयोग ?

बजारमा पाइने खानेकुरामा ट्रान्स फ्याटको प्रयोग थाहा पाउन प्याकेटको बाहिर टाँसिएको लेवलमा ट्रान्स फ्याटको मात्रा पनि लेखिएको हुन्छ । ट्रान्स फ्याटको मात्रा नभएका खानेकुरा किन्न विशेषज्ञहरु सुझाव दिन्छन् । त्यस्तै, घरमा बनाइने खानेकुरामा पनि तोरी, नरिवल, ओलिभलगायत तेलको बढी प्रयोग गर्नुपर्ने उनीहरु बताउँछन् ।

त्यस्तै, गाई, भैँसीको घिउमा पकाइएका खानेकुरामा ट्रान्स फ्याटको मात्रा कम हुने हुँदा घरमा पनि घिउको प्रयोग गर्नु ट्रान्स फ्याटको प्रयोग घटाउने अर्को उपाय भएको बताउँछन् वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य । रातो मासु, आइसक्रिम, बेकरीका परिकार जस्ता खानेकुराको प्रयोग कम गर्नु नै ट्रान्स फ्याट घटाउने उपाय भएको डा. वैद्यको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *