![](https://bagmatisandesh.com/wp-content/uploads/2022/09/Dhurkot-Gaupalika-Gulmi.jpg)
![](https://bagmatisandesh.com/wp-content/uploads/2023/11/20240425_144623.jpg)
असोज १२ गते, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले किसानलाई दुःख दिने वन्यजन्तुलाई घरमै पाल्ने र सिकार गर्ने कानुन बनाउने तयारी गरेको छ । कानुन निर्माणमा सहजीकरण गरिदिनका लागि गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेको छ । वन्यजन्तु नियन्त्रणको अधिकार सङ्घीय सरकारसँग भएकाले कानुन निर्माणमा सहजीकरण गरिदिन पत्र लेखेको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिनुभयो ।
धुर्कोट गाउँपालिकाभित्रका वडाहरूमा बाँदर, बँदेल, दुम्सी, खरायो, चौहाडा, मृग र रातेजस्ता वन्यजन्तुको आतङ्कले गाउँमा बाली नष्ट गरेकोले स्थानीयवासीकाे तर्फबाट नियन्त्रणका लागि पटक–पटक गुनासो आएको, खेतीयोग्य जमिन बाझिँदै गएको र स्थानीयस्तरबाट मानिसहरू बसाइँ सरेर गएको गाउँपालिकाले जनाएको छ ।
किसानलाई दुःख दिने वन्यजन्तु नियन्त्रणका लागि बाँदरलाई समाएर घरमा पाल्ने तथा बँदेल, दुम्सी, खरायो र मृगहरूको सङ्ख्या वृद्धि भएकोले नियन्त्रण गर्न वार्षिकरूपमा निश्चित समय तोकी घरेलु हतियार प्रयोग गरी सिकार खेल्न पाउने गरी आवश्यक कानुन निर्माण गर्न मन्त्रालयबाट सहयोग गरिदिन गाउँपालिकाको निर्णयसहित सिफारिस गरिएको पोख्रेलले बताउनुभयो ।
![](https://bagmatisandesh.com/wp-content/uploads/2022/09/pics_11_6nyiFD5oBa-747x1024.jpg)
![](https://bagmatisandesh.com/wp-content/uploads/2023/07/surti.jpg)