खाद्यले बागमती गाउँपालिकाबाट खरिद गर्‍यो २२ लाखबढीको खसीबोका

असोज ११ गते, हेटौंडा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मकवानपुरको बागमती गाउँपालिकाबाट पहिलोपटक खसीबोका खरिद गरेका छन् । दशैंमा उपत्यकामा मासुको आपूर्ति सहज गर्न खाद्यले पालिकाको वडा नम्बर ६ र ८ बाट १ सय १ वटा खसीबोका खरिद गरेका हुन् ।

खाद्यले बजार मूल्य नियन्त्रण तथा किसानले उचित मूल्य पाउन् भन्ने उद्धेश्यले २५ केजी भन्दामाथिको खसीबोकाको मूल्य प्रतिकिलो ६ सय १० रुपैयाँका दरले खरिद गरिएको हो । जसअनुसार १ सय १ वटा खसीबोका बिक्रीबाट त्यहाँका किसानले २२ लाख ७९ हजार १३७ रुपैयाँ प्राप्त गरेको बाख्रा व्यावसायिक महासंघ मकवानपुरका अध्यक्ष विवेक सुवेदीले बताउनुभयो ।

हरेक वर्ष खाद्यले मकवानपुरका विभिन्न स्थानबाट खसीबोका खरिद गर्ने गरेको छ । तर, पहिलोपटक खाद्यले बागमती गाउँपालिकाबाट खसीबोका खरिद गरेको पालिकाका पशुपक्षीं विकास शाखा प्रमुख राजेन्द्र गोलेले बताउनुभयो । उहाँका अनुसार पालिकाका किसान विशेषत पशुपालनमा अग्रसर रहेकाले यसपटक खाद्यलाई यहाँका खसीबोका खरिद गर्न आग्रह गरिएको हो ।

यसरी पहिलोपटक जिउँदै खसीबोका बिक्री भएपछि यहाँका किसानहरुमा खुशी छाएको छ । वडा नम्बर ६ का श्याम राईले १६ वटा खसीबोका बिक्री गरेवापत उहाँले ३ लाख ६९ हजार ९६५ रुपैयाँ पाउनुभएको छ । उहाँको १६ वटा मध्ये एउटा खशी मात्रै ५२.५ किलो भएको थियो । खशी बिक्रीपछि राईले पहिलोपटक सरकारी निकायलाई जिउँदो खसी बिक्री गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *