असोज ११ गते, काठमाडौं / प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका नेताहरुको बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।
गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निणर्य गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कुन-कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।
नेताहरुका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको छ । त्यसैले आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।