बडादशैंको आज दोस्रो दिन, माता भगवती ब्रम्हचारिणीको पुजाआजा गरिंदै

असोज ११, काठमाडौं / बडादशैंकोे आज दोस्रो दिन, दशैँघर, देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको मन्त्रोच्चारणसहित विधिपुर्वक पूजाअर्चना गरिंदै छ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजागर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन हिजो दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिदैं छ ।

तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

ब्रह्मचारिणी देवीलाई ब्रम्ह विद्याशक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ब्रहमचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रम्ह अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ। सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानवचोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ।

ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रुपमा चर्चा गरिएको छ । पार्वतीको यो रुपलाई ब्रहमचारिणी, तपस्वीतथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ। शास्त्रहरुमा ब्रहमचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ।

दशैंको दोस्रो दिन आज देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको चहलपहल देखिएको छ । राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्सालभगवती, भद्रकाली र इन्द्रयणीसहितका देवीदुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू दर्शन गर्न पुगेका हुन् । उपत्यकाबाहिर हेटौंडाको भुटनदेवी, चुरियामाई मन्दिर, धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता,पोखराको विन्ध्यावासिनी, विराटनगरको कालीमन्दिरसहितका मन्दिरमा पनि भक्तालुहरूले देवीको उपासना गरेका छन् ।

By बागमती सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.