असोज १०, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्व लक्षित गरेर प्रहरी परिचालन गर्ने भएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं प्रहरी उपरीक्षक बामदेव गौतमले चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाई गर्न प्रहरी परिचालन गरिने बताउनुभयो ।
प्रहरी उपरीक्षक गौतमले जिल्लाको चारैक्षेत्रको नाकामा र जिल्ला भित्र रहेका ६२ वटै प्रहरी युनिटबाट पैदल, साइकल मोटरसाइकल मार्फत परिचलन हुने जानकारी दिनुभयो । उहाँले आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनका लागि आफुहरु रातदिन खटिने बताउँदै सुरक्षित महसुश गरी चाडपर्व मनाउन आग्रह समेत गर्नुभयो ।
प्रहरी उपरीक्षक गौतमले नाकामा समेत सुरक्षा निगरानी कडाई गरिएको जानकारी दिनुभयो । उहाँले पिकेट, क्युआरटी, सादा पोशाक, मोवाइल गस्ती, चेकिङ गर्ने, साइकलमा गस्तीलाई २४ घण्टे बनाई ५७६ जना प्रहरी परिचालन गरिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक गौतमले श्रावण देखी हाल सम्म जिल्ला प्रहरी कार्यालयबाट गरेका कामकारवाहीबारे जानकारी गराउनुभएको थियो । लागुऔषध, अपराध, पक्राउ, मुद्दा दर्ता, उजुरी र समुदाय प्रहरी साझेदारी कार्यक्रमहरुबारे गौतमले जानकारी दिनुभयो ।