असोज १०, हेटौंडा/मकवानपुरको बागमती गाउँपालिकामा सोमबारबाट वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महानपर्व दशैंको अवसरमा वडा नम्बर २ वडास्तरीय खेलकुद विकास समितीद्धारा आयोजित फुटबल प्रतियोगिताको बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले उद्धघाटन गर्नुभएको छ ।
उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले खेलकुदले युवाहरुको सामाजिक, आर्थिक र नेतृत्व बिकासमा टेवा पुर्याएको बताउनुभयो । उहाँले युवाहरु देशको शक्ति साथै मेरुदण्ड भएको जिकिर गर्दै उनीहरुलाई सहि अवसर र सहि नेतृत्वमा ल्याउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु प्रदान गर्दै आइरहेको समेत बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तुले) युवाहरुको आवश्यकता हरेक क्षेत्रमा अपरिहार्य भएजस्तै आगामी प्रदेश र संघको निर्वाचनमा उनीहरुको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नुभयो । उपाध्यक्ष पुलामीले गाउँको बिकासमा टेवा पुर्याउन अहोरात्र खटिनेलाई अब आउने निर्वाचनमा बिजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पछिल्लो समय गाउँपालिका खेलकुद क्षेत्रमा अगाडी बढेको भनाई व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रकै बिकासका लागि भनेर पालिकाले राष्ट्रियस्तरको फुटबल प्रतियोगिताहरु सञ्चालन गरिरहेको समेत बताउनुभयो । अध्यक्ष घलानले युवालाई स्वरोजगार बनाउन पालिकाले बिभिन्न योजनाहरु तय गरिरहेको पनि जानकारी दिनुभयो ।
प्रतियोगिता उद्धघाटन कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष जनक पहरी, ३ का अध्यक्ष कमान सिं पाख्रिन, वडा नम्बर ४ का अध्यक्ष दन्तलाल माझी, निर्वतमान प्रशासकिय अधिकृत शुक्रमान राई, प्रहरी चौकी राईगाउका रेशम प्रजा,बागमती माविका प्रधानाध्यापक हर्क बहादुर राई र स्थानीय बुद्धिजिवी शेर बहादुर भोलनको सहभागिता रहेको थियो । उद्धघाटन कार्यक्रम २ नम्बर वडास्तरीय खेलकुद बिकास समितीका अध्यक्ष जय बहादुर गोलेको अध्यक्षतमा भएको हो ।
यसैबिच, आज भएको वडास्तरीय फुटबल प्रतियोगिताको उद्धघाटन खेलमा वडा नम्बर ४ ‘ए’ ले वडा नम्बर २ ‘बी ’ लाई ६-० गोलअन्तरले पराजित गरेको छ । प्रतियोगिता असोज १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा पहिलो हुनेलाई नगद ८० हजार रुपैयाँसहित शिल्ड मेडल प्रमाणपत्र, दोस्रो हुनेलाई नगद ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १२ वटा टिम सहभागी छन् । वडा नम्बर १, २ र ४ बाट दुई/दुई टिम र बाँकी रहेको ३, ५, ६, ७, ८ र ९ नम्बर वडाबाट एक/एक टिम सहभागी छन् । प्रतियोगिता सञ्चालन गर्न ४ लाख रुपैयाँ खर्च लाग्ने आयोजक समितिका अध्यक्ष गोलेले जानकारी दिनुभयो ।