हात्तीसारमा डोजर चलाउनु निजी सम्पत्तिमाथि महानगरको धावा

काठमाडौं महानगरपालिकाले हात्तीसार क्षेत्रमा जमिनमुनि बग्ने टुकुचा उत्खनन गर्न केही दिनदेखि डोजर चलाइरहेको छ। यस क्रममा टुकुचा बग्ने सुरूङ जथाभाबी खन्नुका साथै सर्वसाधारणको निजी जग्गा र निजी सम्पत्ति पनि गैरकानुनी रूपले बिगार्ने र भत्काउने कार्य भइरहेको छ।

महानगरको यो कार्य दुइटा कारणले गैरकानुनी छ — एउटा, राज्यले संरक्षण गर्नुपर्ने पुरातात्विक सम्पदा विनाश भएकाले र अर्को, जनताको निजी सम्पत्तिमाथि गैरकानुनी रूपमा हस्तक्षेप गरेकाले।

म २००४ सालमा काठमाडौं आएको हुँ। त्यति बेला नारायणहिति दरबार वरिपरिको जम्मै भूभाग राणाहरूको स्वामित्वमा थियो। उनीहरूले महाराजगन्जको शितल निवासदेखि अहिले निर्वाचन आयोग बसेको ठाउँ र यता हात्तीसार हुँदै कमलपोखरीसम्म अनेकौं दरबार बनाएका थिए। ती सबै दरबार मैले देख्दा नै छँदै थिए।

आजभन्दा करिब १४० वर्षअघि वीरशमशेर जंगबहादुर राणा सत्तामा आएपछि उनले नारायणहिति दरबार बनाए। त्यही दरबारमा राजाहरू बस्न थाले। त्यसअघिसम्म राजाको बसाइ हनुमानढोका दरबारमा थियो। राजालाई नारायणहितिमा सारेपछि सायद शाह राजपरिवारलाई चारैतिरबाट घेर्ने रणनीतिले हुनसक्छ, राणाहरूले त्यस वरिपरिका जग्गा अधिग्रहण गर्दै त्यहाँ आफ्ना भव्य दरबारहरू बनाए।

यही क्रममा अहिले निर्वाचन आयोग रहेको बहादुर भवन बन्यो। यसलाई ‘चारबुर्जा दरबार’ भनिन्छ। त्यसपछि लालदरबार बन्यो जहाँ अहिले याक एन्ड यती होटल छ। जमलको सेतो दरबार, अहिले अमेरिकी मनोरञ्जन केन्द्र रहेको फोहोरा दरबार र हात्तीसार दरबारहरू पनि बने। यस्ता ठूल्ठूला दरबारका अतिरिक्त राणाहरूकै स्वामित्वमा रहेका अन्य स–साना हवेली र घरहरू पनि त्यस क्षेत्रमा प्रशस्तै थिए।

राणाहरूले दरबार बनाउनुअघि त्यो पूरै भूभाग सार्वजनिक जग्गा थियो भन्ने कतिलाई लाग्न सक्छ। त्यसो होइन। त्यो पूरै भूभाग काठमाडौंका रैथाने किसानहरूको थियो। किसानहरूको जग्गा नै राणाहरूले मुआब्जा दिएर अधिग्रहण गरेका हुन् र त्यही अधिग्रहण गरिएको जग्गामाथि आफ्नो दरबार बनाएका हुन्। त्यसैले ती जमिन पहिले स्थानीय किसानका जग्गा थिए र उनीहरूबाट राणाहरूले आफ्नो निजी स्वामित्वमा ल्याए।

यो त भयो जग्गाको कुरा, अब हामी टुकुचाको कुरा गरौं।

टुकुचा भनेको बागमती, विष्णुमती वा धोबीखोलाजस्तो नदी वा खोला होइन। यो भूमिगत पानी रसाएर बग्ने सानो खोल्सा वा नाला नै हो। यसको पछाडि कारण छ।

काठमाडौं उपत्यका जलाधार क्षेत्रले भरिपूर्ण छ। चारैतिर डाँडा र बीचमा कचौराजस्तो भूभाग भएकाले यहाँ प्राकृतिक रूपले भूमिगत जलस्रोतको भण्डार थियो। मैले थाहा पाउँदासम्म जमिनमा अलिकति तल खन्नेबित्तिकै पानीको मूल फुट्थ्यो। यही अपार जलभण्डारका कारण यहाँ रानीपोखरी, कमलपोखरी लगायत थुप्रै पोखरीहरू बनेका हुन्। हिति र इनारहरू बनेका हुन्।

भूमिगत जलभण्डारबाट पानी रसाउने क्रममा यहाँ थुप्रै कुला र खोल्साहरू बने। तिनैमध्ये टुकुचा एउटा हो। सुरूसुरूमा यही खोल्सा स्थानीय किसानहरूले आफ्नो खेतबारी सिँचाइ गर्ने एउटा स्रोत थियो। चारैतिर खेतै खेत भएका बेला त्यसको बीचबीचबाट बग्ने टुकुचाकै पानीलाई कुलो बनाएर किसानहरू आफ्नो खेतमा लैजान्थे।

जब राणाहरूले एकपछि अर्को दरबार र अन्य संरचनाहरू बनाए, त्यसपछि आफ्नो घरको फोहोर पानी र ढल टुकुचामै मिसाउन थाले। टुकुचा खोल्सालाई ढलमा परिणत गर्ने काम राणाकालबाटै सुरू भयो।

यति मात्र होइन, लालदरबार, सेतो दरबार, चारबुर्जा दरबार, हात्तीसार दरबार लगायत बनेपछि सतहबाट बग्ने टुकुचा जमिनमुनि पुर्न राणाहरूले नै सुरूङ खने र भूमिगत रूपमा बगाए। नारायणहितिदेखि काठमाडौं प्लाजासम्मको क्षेत्रमा बग्ने टुकुचालाई सुरूङभित्र पठाएपछि उनीहरूले त्यसमाथिको जग्गालाई आफ्नो आँगन बनाए जुन राणाहरूकै निजी सम्पत्ति थियो।

अहिले काठमाडौं महानगरले ठाउँठाउँमा सुरूङ खनेर उदांग पारेको छ। त्यहाँ परम्परागत इँटा र सुर्कीचुनाले बनेको गुम्बज शैलीको सुरूङ भेटिएको छ। तपाईंहरू त्यो सुरूङ हेर्न जानुभयो भने थाहा पाउनुहुन्छ, त्यसको वास्तुकला आजको समयमा पनि आश्चर्यजनक छ। झन् आजभन्दा १३० वा १४० वर्षअघि वीरशमशेरकै पालामा निर्माण भएकाले यो त्यति बेलाको हाम्रो इञ्जिनियरिङ क्षमता प्रदर्शन गर्ने अद्वितीय सम्पदा हो।

यो सुरूङ कति बलियो गरी बनाइएको थियो भन्ने कुरा १९९० र २०७२ सालका दुई ठूला महाभूकम्पमा पनि यसको एउटा इँटासमेत तलमाथि नहुनुले छर्लंग पार्छ। यस्तो बेजोड सम्पदामाथि महानगरले जथाभाबी डोजर चलाएर संरचना खल्बल्याउने काम गरेको छ।

डोजरका नंग्राले जहाँ पायो त्यहाँ कोपर्ने गरेपछि त्यो संरचनाको भारवहन क्षमतामा ह्रास आउन सक्छ र पछि कामै नलाग्ने हुनसक्छ। यसतर्फ काठमाडौं महानगरले ध्यान दिएको छैन। काठमाडौंका सम्पदा संरक्षण गर्नुपर्ने निकाय आफैं सम्पदा मास्न उद्दत देखिन्छ।

पुरातात्विक सम्पदा संरक्षणसम्बन्धी कानुनले सय वर्ष पुरानो संरचना भत्काउन र बिगार्न दिँदैन। तपाईं–हाम्रो निजी घर पनि सय वर्षभन्दा पुरानो छ भने त्यसलाई यसै भत्काउन पाइँदैन भने राणाकालमा टुकुचा जमिनमुनि बगाउने उद्देश्यले निर्माण गरिएको सुरूङ त भत्काउन पाउने कुरै भएन।

यस्तो संरचना भत्काउनु भनेको एउटा कालखण्डको वास्तुकला र जीवित इतिहास नै मास्नु हो। कानुनले यस्तो विध्वंसको इजाजत दिँदैन।

टुकुचाको भूमिगत सुरूङपछि अब हामी फेरि त्यसमाथिको जग्गा र त्यहाँ बनेका घरहरूको कुरा गरौं।

अहिले धेरैले महानगरको प्रशंसा गर्दै सुरूङ खनेर टुकुचालाई सतहमा बगाउनुपर्ने र सँगसँगै अहिले सतहमा बनेका घरहरू भत्काउनुपर्ने कुरा गरिरहेका छन्।

मैले माथि भनिसकेँ, वीरशमशेर राणा र उनीपछिका राणा खलकहरूले आफ्नो दरबार बनाउन हात्तीसार क्षेत्रको जम्मै जग्गा स्थानीय किसानबाट अधिग्रहण गरेका हुन्। त्यसैले ती जग्गा सार्वजनिक होइनन्। वीरशमशेर वा अन्य राणाहरूले जग्गा अधिग्रहण गरेर त्यहाँ आफ्नो दरबार बनाएपछि त्यो स्वतः उनीहरूको निजी सम्पत्ति भयो। मैले थाहा पाउँदादेखि नै त्यो पूरै इलाकामा राणा र केही थापाहरूको मात्र घर थियो। जम्मै जग्गा उनीहरूकै स्वामित्वमा थियो।

समयक्रममा र खासगरी २००७ सालमा राणा शासन अन्त्य भएपछि जग्गाको स्वामित्व हस्तान्तरण हुने क्रम सुरू भयो।

वीरशमशेरका छोरा–नातिहरूले जग्गाका टुक्रा भाग लगाएर सर्वसाधारणलाई बिक्री गरे। कतिले आफ्ना निकट भाइभारदार वा विश्वासपात्रहरूलाई बकस पनि दिए होलान्। त्यो पहिलो चरणको स्वामित्व हस्तान्तरण थियो।

त्यति बेला जग्गाको व्यवस्थित कित्ताकाट गर्ने चलन थिएन। राणाहरूले आफ्नै ढंगमा जग्गा भागबन्डा गरे र केही टुक्रा बिक्री गरे। त्यो समय अरू ठाउँको जग्गा बिक्रीवितरण पनि यसरी नै हुन्थ्यो।

यसरी राणाहरूले आफ्नो स्वामित्वको जग्गा अरूलाई बिक्री गरेपछि जसको हातमा जग्गा हस्तान्तरण भयो, त्यो अब उनीहरूकै निजी सम्पत्ति भयो। राणाहरूको निजी सम्पत्ति अरूले किनेपछि त्यो पनि स्वतः निजी नै हुन्छ।

पछि राणाहरूबाट जग्गा किनेका व्यक्तिले पनि आफ्नो आवश्यकताअनुसार बिक्री गर्दै गए। एकपछि अर्को र अर्कोपछि अर्को व्यक्तिमा जग्गा नामसारी हुँदै गयो। जग्गाको स्वामित्व एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै गयो।

अब एकछिन सबैले ठन्डा दिमागले सोचौं, आजभन्दा पचास–सय वर्षअघि राणाहरूबाट एउटा व्यक्तिले किन्यो, त्यो व्यक्तिबाट अर्को व्यक्तिले किन्यो र यही क्रममा आज अरू कसैको स्वामित्वमा त्यो जग्गा छ। यसबीच सरकारले पनि त्यहाँको जग्गा औपचारिक रूपले कित्ताकाट गरिसकेको छ र कानुनी रूपमै जग्गाको स्वामित्व हस्तान्तरण हुँदै आएका छन्। सबै काम कानुनी रूपमा भएपछि त्यो जग्गा गैरकानुनी कसरी भयो?

जहाँसम्म टुकुचा मिचेको वा पुरेको भन्ने सवाल छ, त्यसमा पनि आज त्यहाँ बसिरहेका मानिसहरूको के दोष? टुकुचालाई सुरूङ खनेर जमिनमुनि बगाएको उनीहरूले हो र? जसले जग्गा किने उनीहरूले त्यसमुनि टुकुचा बग्छ भन्ने कसरी थाहा पाउनु? जब राज्य नै बेखबर थियो भने जग्गा किनेर घर बनाउनेलाई दोष दिन कसरी मिल्यो?

काठमाडौं महानगरपालिकाले जे गरिरहेको छ, त्यो सरासर जनताको निजी सम्पत्तिमाथि धावा बोलेको हो। राज्यले यसरी कानुनी रित नपुर्‍याई निजी सम्पत्तिमाथि डोजर चलाउन पाउँदैन। यो उनीहरूको निजी सम्पत्तिको हक उल्लंघन हो।

त्यसैले, पुरातात्विक सम्पदा संरक्षणका दृष्टिले र निजी सम्पत्तिको सुरक्षाका दृष्टिले महानगरको काम गैरकानुनी छ र रोकिनुपर्छ।

महानगरको कार्यबाट धेरै जनता उत्साहित भएका देखिन्छन्। उनीहरूले यसको कानुनी र सामाजिक पाटो बुझेका छैनन्। यसविरूद्ध त्यहाँका स्थानीय नै एकबद्ध भएर कानुनी उपचारको निम्ति जानुपर्छ। उनीहरू पनि महानगरको अभियानविरूद्ध खुलेर बोल्न डराइरहेका छन्। यसको समाधान अब कानुनी हिसाबले नै खोज्नुपर्ने देखिन्छ।

यसका लागि अदालतमा सार्वजनिक सरोकारको रिट दायर गर्न सकिन्छ। त्यसपछि यो विवाद कानुनी रूपमा सुल्झाउने काम अदालतले गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *